इस्मा गाउँपालिका–४ का ३२ वर्षीय युवा ओमबहादुर कुँवर व्यावसायीक लसुन खेती र बाख्रापालन गर्छन्। टयाक्सी चालकको भिषामा युएईमा चार वर्ष काम गरेपछि उनी मासिक एक लाखको तलब छाडेर गाउँ फर्किए। सामान्य जीवनशैलीका कुँवरले विकट गाउँको खोला किनारमा गरेको कृषि कर्म देखेर मानिसहरु अचम्म मान्छन्। आफ्नो र लिजको गरेर उनीसँग करिव पाँच सय रोपनी जग्गा छ। गत वर्ष १८ क्विन्टल लसुन रोप्दा उनले झण्डै २० टन लसुन उत्पादन गरे। लिजको जग्गाको उनले वार्षिक एक लाख १० हजार भाडा तिर्दै आएका छन्।
१० टन लसुन न बिक्यो न टिक्यो
०७६ सालमा ५० किलो लसुन रोप्दा १० क्विन्टल फलेपछि हौसिएका कुँवरले ०७७ सालमा १० क्विन्टल लसुन लगाए। रोगले ८० प्रतिशत भन्दा धेरै लसुन नष्ट ग¥यो। बिउ पनि नजोगिएपछि केहि मनोबल घट्यो। तर, इस्मा गाउँपालिकाले क्षतिको सहजीकरण गर्दै केहि रकम सहयोग गरेपछि कुँवरले हिम्मत हारेनन्। सहकारीमार्फत दुई लाख निव्र्याजी कर्जा पनि पाए।
यो बर्ष १८ क्विन्टल लसुन रोप्दा करिव २० टन उत्पादन भएको कुँवर बताउँछन्। तर, उत्पादन राम्रो भएपनि मूल्य र बजार नपाउँदा उनी आफैं गाडीमा लसुन राखेर गुल्मी र बाग्लुङ्गका बजार डुले। प्रतिकिलो साढे तीन सय रुपैयाँमा रोपेको लसुन व्यापारीहरुले ७० रुपैयाँमा मागेको उनी बताउँछन्। बल्लतल्ल डेढ सयदेखि दुई सयमा करिव १० टन लसुन बिक्री गरे पनि व्यवस्थित भण्डारण नहुँदा बाँकी १० टन लसुन फस्टिएर काम नलाग्ने भएको कुँवर गुनासो गर्छन्।
‘नेताका नीति र भाषण मात्रै चिल्ला’
तीनै तहका सरकारले नीति कार्यक्रम र बजेट ल्याएका छन्। कार्यक्रम र बजेट चिल्ला कुराले भरिएपनि वास्तविक किसान उत्पादनले बजार, मूल्य र भण्डारण नपाएर तड्पिनुपरेको भन्दै कृषक कुँवर असन्तुष्टी व्यक्त गर्छन्।
विमानस्थलमा परदेश पस्नेहरुको लर्को लाग्दा लाखौंको तलब छाडेर कुँवर स्वदेश फर्किए। जिल्लाका धेरै स्थानीय तहको नीति तथा कार्यक्रममा कृषि र पशुपालनबाट समृद्धि पाउने सपना बाँडीयो। तर, कागजमा भन्दा माटोमै समृद्धिको सपना बुनेका कुँवरजस्ता युवा उत्पादन बिक्रीका लागि दुई हात जोडेर बिन्ती बिसाइरहेका छन्। ‘मैले हात जोडेर बजार घुमेपनि पुरै लसुन बिक्री भएन। खै कता गए कृषि सहकारी र सरकार ?’ उनले प्रश्न गरे, ‘मैले उत्पादन मात्रै गर्छु, सरकारसंग खरिद गर्ने हिम्मत छ ?’
जिल्लामा रेसुंगा नगरपालिका र धुर्कोट गाउँपालिकामा कोल्डस्टोर छ। तर, स्टोरमा पालिकाभित्रकै उत्पादनसमेत भण्डारण गर्न कठिन छ। त्यसमाथि पनि लसुन भण्डारण गर्ने प्रणाली छैन।
कृषि ज्ञान केन्द्र भन्छ–विकल्प दिन सकेनौं
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले ओमबहादुर कुँवरको लसुन उत्पादनको बजारका बिषयमा आफूहरु गम्भिर भएपनि विकल्प दिन नसकिएको बताए। कुँवरको लसुन ठुलो परिमाणमा भएकाले कोल्डस्टोरमा राख्ने उपायको खोजी भएपनि नजिक नभएकाले बिग्रेर जाने स्थिती आएको बताए।
ज्ञानकेन्द्रको तर्फबाट कोल्डस्टोरसम्मको ढुवानी खर्च र कोल्डस्टोरमा राखेको शुल्कसमेत व्यहोर्ने उपाय खोजेपनि यो दीर्घकालिन समाधान नभएको भण्डारी बताउँछन्। उनले स्थानीय र प्रदेश सरकारले जिल्ला तहमा ठुला शितभण्डारण र कृषि उपज बजारीकरणको ग्यारेण्टी नगरे कृषक हत्तोत्साहित हुने अवस्था कायमै रहने बताए।