वीरले डेढ करोडमा खरिद गरेको डेन्टल ल्याब दुई महिनादेखि अलपत्र

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

जडान गरिने स्थान र जनशक्ति व्यवस्थापन नगरी खरिद गरिएका ल्याबका सामग्री बेवारिसे

वीर अस्पतालको पुरानो भवनको प्यासेजमा अलपत्र डेन्टल ल्याबका सामग्री

विपन्न नागरिकको घुइँचो लाग्ने देशकै जेठो सरकारी अस्पताल वीरमा दुई महिनाअघि खरिद गरिएका डेढ करोडका डेन्टल ल्याबका सामग्री ग्यालरीमै अलपत्र छ । आवश्यक ठाउँ व्यवस्थापन नहुँदा ल्याब सञ्चालन गर्न नसकिएको अस्पतालले भनाइ छ । तर, ठाउँ नै व्यवस्थापन नगरी हतारमा किन सामान खरिद गरियो भन्ने प्रश्नको अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले जवाफ दिएनन् । ल्याब सञ्चालन गर्न अझै कति समय लाग्छ भन्नेबारे पनि उनले अनभिज्ञता जनाए । 

‘ल्याब फिट गर्न जनशक्ति र ठाउँ अभाव छ । त्यसैले अहिले थन्क्याएर राख्नुपरेको छ,’ बस्नेतले भने, ‘ल्याब फिट गर्ने प्राविधिक खोजिरहेका छौँ । सकेसम्म चाँडो ल्याब सञ्चालनमा ल्याएर बिरामीलाई सेवा दिन्छौँ ।’ 

अस्पताल प्रशासनका उपसचिव सागर मिश्रले पेइङ वार्डलाई नयाँ भवनमा सारेर त्यहाँ डेन्टल ल्याब राख्ने तयारी भइरहेको बताए । ‘पेइङ वार्डलाई नयाँ भवनमा सारेर त्यहाँ डेन्टल ल्याब राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘तर, कहिलेदेखि ल्याब सेवा सुरु गर्न सकिन्छ ठ्याक्कै भन्न सक्ने अवस्था रहेन ।’ 

ठेकेदार कम्पनी गर्ग डेन्टलका उमेश अग्रवालले एक करोड ४३ लाख २८ हजारमा डेन्टल ल्याबका सामग्री खरिद गरेर ११ असारमा अस्पताललाई हस्तान्तरण गरेका थिए । अस्पतालले ६ महिनाअघि नै ल्याब तथा त्यसका लागि आवश्यक उपकरण खरिदका लागि टेन्डर गरेको थियो । सामान आइसक्दासम्म अस्पतालले ल्याब सञ्चालन गर्ने ठाउँ भने व्यवस्थापन गरेन । अहिले ल्याबका उपकरण पुरानो भवनको गल्लीमा राखिएका छन् । अस्पताल प्रशासनका अनुसार २० वटा डेन्टल चियर, चारवटा कम्प्रेसर, एउटा माइक्रोसफ्ट र ल्याब खरिद गरिएको छ । 

हाल वीरमा डेन्टल उपचार सुविधा भएपनि ल्याब छैन । बिरामीले दाँत राख्नुपर्ने भए अन्य अस्पतालको ल्याबबाट तयार गरेर ल्याउनुपर्छ । डेढ करोडका उपकरणसहितको ल्याब सञ्चालनमा ल्याए आवश्यकताअनुसारका दाँत बनाउने र त्यससँग सम्बन्धित विशेषज्ञ चिकित्सक सेवा वीरमै हुन्छ । 

वीरमा जता हेर्‍यो, उतै भद्रगोल

दुई सातासम्म एक्सरे सेवा ठप्प 
वीरमा ४ भदौदेखि बिहीबारसम्म दुई साता टाउको, ढाड र कम्मरको एक्सरे सेवा ठप्प भयो । ल्याबमा समस्या आएपछि बिरामी उपचारका लागि महँगो अस्पताल जान बाध्य भए । आर्थिक जोहो गर्न नसक्ने बिरामी दुई सातासम्म कुरेर बसे । अस्पतालले अत्यावश्यक उपकरण समयमै बनाउने चासो देखाएन । शुक्रबार मात्रै प्राविधिक बोलाएर ल्याब मर्मत गरेपछि एक्सरे सेवा नियमित भएको छ । 

वीर प्रशासनका अनुसार दिनमा टाउको, ढाड र कम्मरसँग सम्बन्धित डेढ सय बिरामी एक्सरे सेवाका लागि आउने गर्छन् । दुई सातासम्म एक्सरे मेसिन नचल्दा झन्डै दुई हजार बिरामी सेवाबाट वञ्चित भए । शुक्रबार ल्याब सञ्चालनमा आएपछि ६० भन्दा बढी बिरामीले एक्सरे सेवा लिएका छन् । ल्याब बनेको जानकारी नहुँदा धेरै बिरामी आएनन् । 

गत आइतबार र सोमबार पिसिआर रिपोर्टसमेत आएन
गत आइतबार र सोमबार वीरकोसर्भर डाउन हुँदा पिसिआर रिपोर्टसमेत निस्किएन । सोमबार बिहान चारजनाले मात्रै पिसिआर जाँच गराउन पाएका थिए । तर, उनीहरूको रिपोर्ट मंगलबारमात्रै आएको थियो । ल्याब नचल्ने भएपछि पिसिआर तथा अन्य ल्याब रिपोर्टका लागि आइतबार र सोमबार आएका बिरामी फर्काइएका थिए । मंगलबार सर्भर मर्मत गरेपछि सेवा सञ्चालन भइरहेको छ । 

तीन महिनाअघि २४ घन्टासम्म अस्पतालको सर्भर पूरै डाउन
वीरमा बेथिति र भद्रगोल यतिसम्म छ कि तीन महिनाअघि २४ घन्टासम्म अस्पतालको सर्भर पूरै डाउन भएको थियो । १८ र १९ जेठमा सर्भर डाउन हुँदा इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प भएका थिए । सो अवधिमा बिरामीले टिकट काट्नैका लागि २६ घन्टासम्म कुर्नुपरेको थियो भने इमर्जेन्सीका बिरामीले समेत ल्याब रिपोर्ट पाएका थिएनन् । १८ जेठको बिहान १० बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म सर्भरले काम गरेको थिएन ।

पटक–पटक सर्भरमा समस्या, मुसाले बिजुलीको तार काटेर हैरान
वीरको सर्भरमा प्राविधिक समस्या प्रायः आइरहन्छ । कहिले सर्भरमै आन्तरिक समस्या आउँछ भने कहिले मुसाले विद्युत्को तार काट्दा सर्भर डाउन हुन्छ । समस्या आउनुलाई पनि स्वाभाविक मान्न सकिएला, तर समस्या देखिएपछि तत्काल मर्मतमा चासो नदेखाउनु वीरमा सबैभन्दा ठूलो लापरबाही छ । सर्भरमा समस्या आउँदा अस्पतालको इन्टरनल नेटवर्कले काम गर्दैन जहाँ बिरामीको इन्ट्री रेकर्डदेखि सबै प्रमाण अनलाइन सिस्टममा राखिएका हुन्छन् । सर्भर डाउन हुँदा काउन्टर सेवासमेत बन्द हुन्छ । 

अस्पतालका चिकित्सक प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि यी समस्याबारे सुनुवाइ नभएको गुनासो गर्छन् । ‘सर्भरमा समस्या आउँदा उपचार गराइरहेका बिरामीको ल्याब रिपोर्ट अड्किन्छ । अप्रेसन गर्नुपर्ने बिरामीको रिपोर्टसमेत निकाल्न सकिँदैन । नयाँ बिरामीले पनि भर्ना पाउँदैनन्,’ एक चिकित्सकले भने । 

अस्पताल निर्देशक बस्नेत वीरको सर्भरमा समस्या आइरहने स्विकार्छन् । ‘हामीकहाँ सर्भर प्रायः बिग्रिरहन्छ । अब यसलाई फालेर नयाँ राख्ने योजना छ,’ उनले भने । 

डायलाइसिसको पालो नपाएर बिरामी तड्पिँदै, १० डायलाइसिस मेसिन एक महिनादेखि ग्यालरीमै

स्वास्थ्य सेवा विभागले दिएका १० डायलाइसिस मेसिन अझै पनि बक्सामै

डा. दीपेन्द्ररमन सिंह, महानिर्देशक, स्वास्थ्य सेवा विभाग
 

वीरले मागेपछि डायलाइसिस मेसिन दिएका हौँ, किन प्रयोग गरिएन अनुगमन गर्छौँ

वीरमा अहिले २० वटा डायलाइसिस मेसिन सञ्चालनमा छन् । दैनिक ६० जनाले सेवा लिँदै आएका छन् । तर, शुक्रबारसम्मको तथ्यांकअनुसार ५० बिरामीले डायलाइसिसका लागि नाम टिपाएर पालो कुरिरहेका छन् । 

यही भिड व्यवस्थापन गर्न वीरले स्वास्थ्य सेवा विभागसँग थप डायलाइसिस मेसिन माग गरेको थियो । विभागले एक करोड ८६ लाख ३८ हजार पर्ने १० वटा मेसिन दियो पनि ।

तर, एक महिनासम्म जडान नै गरिएका छैनन् । पुरानो भवनको ग्यालरीमा थन्क्याइएको छ । डायलाइसिसको पालो कुरेका मिर्गौला बिरामी भने तड्पिरहेका छन् । 

‘अरू अस्पतालमा पालो नपाएपछि हामी वीरमा आयौँ, तर यहाँ पनि ठाउँ पाइएन,’ ललितपुर हरिसिद्धिबाट दाइलाई डायलाइसिस गराउन वीर आएका भूपाल महर्जनले भने, ‘अब ऋण जोहो गरेर भएपनि निजीतिर जानुपर्ला । ज्यान त जोगाउनैपर्‍यो ।’

वीरका मेडिकल स्टोर इन्चार्ज टीकाराम पनेरूका अनुसार नयाँ १० मेसिन जडान गर्ने हो भने दैनिक थप ३० जना बिरामीको डायलाइसिस गर्न सकिन्छ । 

सुझावित समाचार