१० अंकमा भारत र पाकिस्तानबीचको खेल

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

भारत–पाकिस्तानबीचको बहुप्रतीक्षित एसिया कप टी–२० भिडन्त आइतबार भयो । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्यो । प्रतियोगितामा दुवै टोलीको पहिलो खेल थियो । जितसँगै भारतले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । चोटले ग्रस्त पाकिस्तानले अन्तिम ओभरमा महŒवपूर्ण अंक गुमायो । यस खेलसँगै भारतले एक वर्षअघि पाकिस्तानसँग भोगेको हारको बदला लियो । भारतका अलराउन्डर हार्दिक पाण्ड्या खेलका नायक बने । उनले तीन विकेट लिनुका साथै ३३ रनको योगदान गरे । भारत र पाकिस्तानबीचको खेलको १० अंकमा विश्लेषण गरिएको छ । 

१. दुबईमा भएको खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर बलिङ रोजेका थिए । भारतले ऋषभ पन्तलाई बाहिर राख्दै दिनेश कार्तिकलाई मौका दिएको थियो । पाकिस्तानले युवा बलर नसिम शाहलाई डेब्यु गराएको थियो । 

२. पाकिस्तानका कप्तान बाबर आजम असफल भए । ठूलो आशा गरेको पाकिस्तानले कप्तान बाबरबाट १० रनको मात्र साथ पायो । सुरुमा पाकिस्तान निकै दबाबमा देखिएको थियो । तर, विकेटकिपर मोहम्मद रिजवान र इफ्तिखार अहमदले पाकिस्तानको इनिङ्स सम्हाल्दै सम्मानजनक स्कोर खडा गरे । 

३. पाकिस्तानको इनिङ्समा रिजवानले सर्वाधिक ४३ रन र इफ्तिखानले २८ रन जोडे । उनीहरूबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । हारिस रउफले सात बलमा अविजित १३ रन तथा शाहनबाज दहानीले ६ बलमा १६ रन जोडे । 

४. पाकिस्तानका ब्याट्सम्यान भारतीय बलरमाथि खुलेर खेल्न सकेनन् । इनिङ्स समाप्त हुनु एक बलअघि नै पाकिस्तान एक सय ४७ रनमा अलआउट भयो । भारतबाट भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चिएर चार विकेट लिए । पाकिस्तानविरुद्धको टी–२० खेलमा भारतीय बलरको यो सर्वाेत्कृष्ट प्रदर्शन हो । 

५. एक सय ४८ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात खराब रह्यो । इनिङ्सको दोस्रो बलमै लोकेश राहुल गोल्डेन डक भए । नसिम शाहले उनलाई बोल्ड गरेका थिए । टी–२० विश्वकपमा पनि उनी पाकिस्तानविरुद्ध बोल्ड भएका थिए । 

६. राहुल आउट भएसँगै कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहली क्रिजमा रहे । रोहित १० रन बनाएर आउट भए । उत्कृष्ट सट खेलेसँगै विराट पनि ३५ रनमा आउट भए । विराटको सयौँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो । 

७. ५३ रन बनाउँदा भारतले तीन विकेट गुमाएको थियो । रविन्द्र जडेजा र सूर्यकुमार यादवले भारतलाई केही सम्हालिएर साथ दिए । यसपछि क्रिजमा हार्दिक आए । सूर्यकुमारले १८ रनमा आउट हुँदा भारत ८९–४ अवस्थामा पुग्यो । 

८. भारतलाई अन्तिम पाँच ओभरमा ५१ रन आवश्यक थियो । क्रिजमा हार्दिक र रविन्द्र थिए । दुवै ब्याट्सम्यानले सुरुमा केही डट बल खेले । पाकिस्तानी बलर फेरि एकपटक भारतमाथि हावी भए । यसपछि भारतलाई अन्तिम दुई ओभरमा २१ रनको आवश्यकता पर्यो । 

९. हार्दिकले १९औँ ओभरमा तीन चौकासहित १४ रन जोडे । निर्णायक अन्तिम २०औँ ओभरमा भारतलाई खेल जित्न सात रन आवश्यक थियो । पहिलो बलमा रविन्द्र जडेजा क्लिन बोल्ड भए । १९.४ ओभरमा हार्दिक स्ट्राइकमा आए । उनले छक्का प्रहार गर्दा भारत दुई बलअघि नै जित निकाल्न सफल भयो । 

१०. टी–२० विश्वकप–२०२१ मा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । त्यसको दश महिनापछि भारतले बदला लिएको छ । पाँच विकेटको जितसँगै भारतले प्रतियोगितामा सानदार सुरुवात गरेको छ । 

See More On

सुझावित समाचार