केन्याविरुद्ध नेपालको दोस्रो जित

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

नेपालका युवा ब्याट्सम्यान अर्जुन साउदको करिअरमा केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल विशेष रहने पक्का छ । नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै अर्जुनले स्मरणीय डेब्युु गरेका छन् । पाँच टी–२० शृंखलाअन्तर्गत आइतबार तेस्रो खेलमा अर्जुनले केन्याविरुद्ध डेब्यु गर्दा नेपाल चार विकेटले विजयी भएको छ । यस जितसँगै नेपालले तीन खेल सकिँदा शृंखलामा २–१ को अग्रता बनायो ।

केन्याविरुद्ध तेस्रो खेलमा प्रशिक्षक मनोज प्रभाकरले आशिफ शेख र बसिर अहमदलाई बाहिर राख्दै शाहव आलम र अर्जुनलाई मौका दिएका थिए । नैरुबी मैदानमा पहिलो ब्याटिङ गरेको केन्याले २० ओभरमा केवल दुई विकेट गुमाएर एक सय ५६ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ६० रन बनाउँदै केन्यामाथि रोमाञ्चक जित हात पार्यो । 

मध्यक्रमको योगदान
तेस्रो खेलमा नेपालले जित निकाल्दा सुदृढ ब्याटिङ देखियो । ओपनर पवन सराफले आक्रामक ब्याटिङ गर्दै १२ बलमा तीन चौका र एक छक्काको सहयोगमा २० रन बनाए । यस्तै, आदिल अन्सारीले सात बलमा १६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ६, आरिफ शेखले ४ रन बनाउँदा करण केसी शून्यमा अविजित रहे । अर्जुन र पवनले पहिलो विकेटका लागि २० बलमा ३५ रनको साझेदारी गरेका थिए । 

दुई आक्रामक अर्धशतक
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याका दुई खेलाडीले अर्धशतक बनाए । राकेप पटेलले सर्वाधिक ७३ रन बनाए । ४३ बल खेलेका पटेलले पाँच चौका र चार छक्का हिर्काए । विकेटकिपरसमेत रहेका इरफान करिमले ४७ बलमा चार चौका र दुई छक्कासहित ५५ रनको योगदान गरे । दुवै ब्याट्सम्यानले तेस्रो विकेटका लागि एक सय २७ रनको साझेदारी गरेका थिए । नेपालका सोमपाल कामी र आलिदले समान एक विकेट लिए । 

 ज्ञानेन्द्र म्यान अफ दी म्याच
केन्यासँग सिरिजबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरे । दोस्रो खेलमा उनको ब्याट चल्न सकेन । तर, केन्याविरुद्धको तेस्रो खेलमा नेपाललाई महत्वपूर्ण जित दिलाउने क्रममा मल्लले विशेष योगदान दिए । मल्लले ४१ बलमा सर्वाधिक ४६ रनको योगदान दिए । यसै प्रदर्शनका आधारमै उनी खेलकै म्यान अफ दी म्याच भए । उनले आफ्नो इनिङ्समा चार चौका र एक छक्का प्रहार गरे । 

मल्लले डेब्यु खेलाडी अर्जुनसँग दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । मल्लले लगातार पाँचौँ विकेटका लागि अन्य ब्याट्सम्यानसँग गतिलो साझेदारी गर्दै नेपालको जित आधार तयार पारेका हुन् । मल्लले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ५४ रन तथा मोहमद आदिल अलामसँग पाँचौँ विकेटका निमित्त ११ रनको साझेदारी गरे । मल्ल आउट हुँदा नेपाल १८.२ ओभरमा १४८–५ को अवस्थामा थियो । 

सुझावित समाचार