- पोखरा एभेन्जर्स र सकिबबिच आपसी छलफलपछि बाँकी खेलमा सहभागी नहुने निर्णय भएको हो
काठमाडाैं- बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को बाँकी खेल नखेल्ने भएका छन् । पहिलोपटक एनपिएल खेलेका सकिब पोखरा एभेन्जर्समा अनुबन्ध भएका थिए । पोखरा एभेन्जर्स र सकिबबिच आपसी छलफलपछि बाँकी खेलमा सहभागी नहुने निर्णय भएको हो । लगातार चार खेलमा पराजित भएपछि पोखराको प्ले–अफमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । यसपछि दुवै पक्षबिच भएको छलफलपछि सकिबले बाँकी खेल नखेल्ने निर्णय लिएका हुन् । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले सकिब नखेल्ने पुष्टि गरेका छन् । अब, सकिब संयुक्त अरब इमिरेट्समा आयोजना हुने (युएई) टी–१० लिगमा सहभागी हुनेछन् ।
शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा सकिब मैदानमा उपलब्ध भएका थिएनन् । सो खेलमा पोखरा ३० रनले पराजित भएको थियो । युएई पुगेका उनी ढिलो गरी काठमाडौं आइपुगेका थिए । तर, प्रतियोगिताको मापदण्डअनुसार उनी मैदानमा भने चाँडो पुग्न सकेनन् ।
त्यसअघि सकिब एनपिएल खेल्न अमेरिकाबाट सिधै नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री सेख हसिना पदच्युत भएपछि हसन पनि बंगलादेश गएका छैनन् । यता, पोखरामै अनुबन्ध भएका बंगलादेशका मोहम्मद सैफुद्दिन पनि बंगलादेश ‘ए’ टोलीमा परेपछि स्वदेश फर्किसकेका छन् ।
पोखराको चार खेलको नतिजा
पोखराले यसपटक पनि सहिबसँगै चर्चित खेलाडी अनुबन्ध गर्दै पहिलोपटक प्ले–अफ पुग्ने र उपाधि नै जित्ने योजना बनाएको थियो । तर, टोलीको प्रदर्शन सोचेअनुरूप भएन । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सँग ६ विकेटले पराजित भएको हो ।
दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग नौ रनले पराजित भयो । पोखरा कुनै समय जितनजिक पुगेर पनि लक्ष्य पार गर्न सकेन । तेस्रो खेलमा लुम्बिनी लायन्ससँग आठ विकेटले पराजित भयो । गर या मरको स्थितिमा चितवन राइनोजसँग खेलेको पोखरा सो खेलमा पनि ३० रनले पराजित भएको थियो । यो खेलपछि पहिलोपटक प्ले–अफ पुग्ने टोलीको लक्ष्यमा ठुलो धक्का लागेको छ ।
पोखराको बाँकी खेल कहिले छ ?
चार खेल खेलिसकेको पोखराले प्रतियोगितामा तीन खेल खेल्न बाँकी छ । तर, अब टोली प्ले–अफ पुग्न निकै कठिन छ । टोलीले बाँकी खेल जितेर मात्रै पुग्दैन अन्य टोलीको नतिजा पनि कुर्नुपर्छ । पोखराले सोमबार नै कर्णाली याक्ससँग प्रतियोगिताको पाँचौँ खेल खेल्नेछ । छैटौँ खेल विराटनगर किंग्ससँग १२ नोभेम्बरमा रहेको छ । अन्तिम खेल भने १५ नोभेम्बरमा काठमाडौंसँग खेल्ने तालिका छ ।