यू– १९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। एसिसी यू– १९ एसिया कपअन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। ओमानमा जारी प्रतियोगितामा आइतबार भएको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग सात विकेटले पराजित भएको हो।

नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। युएईको जितमा अयान मिस्बाहले अविजित ७५ रनको उत्कृष्ट योगदान दिए। त्यस्तै, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन बनाए।

नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले एक–एक विकेट लिए।

यसअघि ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो। नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए भने सचिन भट्टले ३२ रन जोडे। निरजकुमार यादव र दर्श सोनारले समान १६ रनको योगदान दिए।

युएईका बलर नसिम खानले उत्कृष्ट प्रदर्शन गर्दै आठ ओभरमा एक मेडनसहित ४३ रन खर्चेर पाँच विकेट लिए।

यसअघि पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको नेपालका लागि यो प्रतियोगितामा लगातार दोस्रो हार हो। यता, युएईले भने प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

सुझावित समाचार