एमालेमा ३४ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । पार्टीका अध्यक्ष केपी ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो ।

सो कमिटीको सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर निर्वाचनकेन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहेका छन् ।  

एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदन गरेको थियो । एमालेले अध्यक्ष ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ ।  
 

See More On

सुझावित समाचार