व्यवस्थित सहरीकरणमा सरकारको जोड : प्रधानमन्त्री

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले बुटवल क्षेत्रको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शनिबार बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै उनले व्यवस्थित सहरीकरणले आर्थिक गतिविधि बढाउने बताएका हुन् । सरकारले सधैँ स्वच्छ, सुन्दर सहर निर्माणमा जोड दिँदै आएको धारणा राखे ।

कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले बुटवल क्षेत्रको विकासका लागि महत्वपूर्ण योजना रहेको चर्चा गर्दै सरकारले औद्योगिक क्षेत्र स्थापनादेखि सुरुङ मार्गका योजनाहरू अगाडि बढाएको बताए । सम्मेलन केन्द्रको सञ्चालन यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने गरी सञ्चालन गर्नुपर्नेमा उनले जोड पनि दिए । सहरी विकासमन्त्री मेटमणि चौधरीले सहरहरूलाई चलायमान हुने गरी विकासका गतिविधि अगाडि बढेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले अगाडि बढाएका विभिन्न योजनाबारे चर्चा गरेका थिए । 

त्यस्तै, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीलाई विकासमा मुलुककै नमुना जिल्ला बनाउने गरी योजनाहरू अगाडि बढेको बताए ।  पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्मेलन केन्द्र सञ्चालन गर्दा राम्रो कार्यविधि बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिइन् । कार्यकर्ता व्यवस्थापन गर्नेतर्फ नलागी बिजनेससँग जोडेर निरन्तर आम्दानी हुने गरी सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल, सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंह, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीलगायतले विकास निर्माणका बारेमा चर्चा गरेका थिए । 

कार्यविधि नबन्दै उद्घाटन
रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरको बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लागत एक अर्ब तीन करोड ७६ लाख रहेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य सभाहलमा एक हजारजना अटाउने क्षमता रहेको छ । यहाँ रहेका अन्य १२ वटा साना–ठूला सभाहलमा समेत गरी दुई हजार सात सयजना अट्ने क्षमता रहेको छ । बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा सभाहल फैलिएको छ । यो सभाहल  आकाशबाट हेर्दा चन्द्र र सूर्य रहेको नेपालको झन्डा आकारमा रहेको छ । सभाहलको शनिबार उद्घाटन गरिएको भए पनि यसको सञ्चालनका लागि कार्यविधि अझै बन्न सकेको छैन । 

सुझावित समाचार