साइबर अपराधको लत : दुई वर्षमा तेस्रोपटक पक्राउ परे २० वर्षे किशोर

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

फेसबुक ह्याक गरी आफन्तसँग पैसा मागेर ठगी गर्दै आएका एक किशोर दुई वर्षमा तेस्रोपटक पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे घर भई भक्तपुर बस्ने २० वर्षीय किरण पाठकलाई प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो । 

उनले पछिल्लो तीन महिनामा ५० जनाभन्दा धेरैको फेसबुक ह्याक गरी डिजिटल पेमेन्टमार्फत पैसा मागी ठगी गरेको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी पशुपति रायका अनुसार किरणविरुद्ध ६ जनाले जाहेरी दिएका छन् भने अन्य जाहेरी दिने क्रममा छन् । उनले अनुमानका आधारमा विभिन्न व्यक्तिहरूको फेसबुकको युजरनेम र पासवर्ड राख्थे र ह्याक गर्थे । त्यसरी ह्याक गरेपछि मेसेन्जरमार्फत ती व्यक्तिका आफन्तसँग समस्या परेको भन्दै डिजिटलमाध्यमबाट केही रकम माग्थे । फेसबुक ह्याक गरेपछि च्याटको अध्ययन गरी सबैभन्दा निकट व्यक्ति पत्ता लगाई उनीहरूले कुरा गर्ने शैलीमै च्याट गरेर पैसा माग्ने गरेको अनुसन्धानमा खुलेको छ । 

रकम लिनका लागि फेसबुकमार्फत अर्का व्यक्तिको इसेवाको ओटिपी नम्बर मागी दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ । ब्युरोका एसपी रायका अनुसार पछिल्लोपटक उनले करिब ५० जनालाई त्यसरी ठगी गरेको उजुरी परेको छ । धेरैलाई औसतमा २०–२५ हजार रुपैयाँ ठगी गर्थे । यसरी विभिन्न नाममा इसेवा आइडीसमेत खोलेका थिए । ठगीकै लागि उनले करिब ४० वटा सिम कार्ड लिएको एसपी राय बताउँछन् । 

पाठकलाई गत फागुनमा जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी मुद्दा चलाएको थियो । जसमा जिल्ला अदालतले उनलाई थुनामा पठाएको उच्च अदालतले छाड्ने आदेश दिएको थियो । जेलबाट छुटेलगत्तै उनी फेरि सोही धन्दामा लागेका हुन् । प्लस टुसम्मको अध्ययन गरेका पाठकलाई परिवारले यस्तो काम नगर्न आग्रह गर्दा पनि उनले मानेका छैनन् । ‘उनमा साइबर अपराधको लत नै देखिन्छ,’ अुनसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन् । 

दुई वर्षअघि पनि प्रहरीले उनलाई यस्तै अपराधमा पक्राउ गरेको थियो । त्यतिवेला उनको उमेर १८ वर्षभन्दा कम भएकाले यस्तो अपराध नगर्ने सर्तमा छुटेका थिए । तर, उनी सुध्रिएनन् । करिब १० जनालाई फेसबुकबाटै ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । 

खासगरी फेसबुकमा कमजोर पासवर्ड राख्नेहरू उनीबाट ठगिएका छन् । कतिपयले च्याटमा कुरा गरेकै आधारमा इसेवाको ओटिपी नम्बर दिने गरेकाले पनि उनले सहजै ठगी गर्न सफल भएको प्रहरी अधिकारी बताउँछन् । ब्युरोले विद्युतीय कारोबार ऐनअनुसार उनीमाथि अनुसन्धान अघि बढाएको छ । 

See More On

सुझावित समाचार