सरकार विदेशीकाे इसारामा चलेको छ, याे संसद्ले देशलाई निकास दिँदैन : विष्णु पौडेल

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन्। अर्थमन्त्रीको बजेट काण्डदेखि नागरिकता विधेयक सबै विदेशीको इसारा र निर्देशनमा आएको उनको आरोप छ।

प्रेस चौतारी सिन्धुलीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले देशलाई समृद्ध र सही दिशातर्फ लैजान अहिलेको संसद् भंग गर्नुपर्ने बताए। अहिलेको संसद्ले देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै उनले तत्काल निर्वाचनमा जानुपर्ने बताए।

गठबन्धन सरकारले संसदबाट पारित नागरिकता विधेयक विदेशीको इसारामा ल्याएको आरोप लगाउँदै यो सरकार विदेशीको कठपुतली हो भन्ने प्रमाणित भएको जिकिर गरे। तत्कालीन प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद् विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारले नै पुष्टि गरेको उनको दाबी छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इसारामा चलेको थप पुष्टि गरेको बताए। बजेट वक्तव्यमा देखिएको तमासाले आमनागरिकमा सरकारको गोपनीयता र विश्वास दुवै गुमेको बताउँदै उनले तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र भइरहेको आरोप लगाए।

विदेशीको इसारामा चलेको सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको उनको भनाइ छ। तत्काल संसद् भंग गरी निर्वाचनमा नजाने हो भने देश दुर्गतिको बाटोमा जाने दोहोर्याउँदै उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भए एमालेले बहुमत ल्याउने ठोकुवा गरे।

सुझावित समाचार