आन्तरिक भेला र बैठकमा ओली व्यस्त : गृहनगरमा प्रमुख–उपप्रमुख हारेकोमा असन्तुष्ट

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

एमालेका अध्यक्ष केपी ओली बुधबारदेखि गृहजिल्ला झापामा छन् । शनिबारसम्मका लागि आएका ओली अगुवा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । बुधबार बिर्तामोडमा एउटा सार्वजनिक कार्यक्रममा देखिएका ओली बिहीबार दिनभर आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र–५ को पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त भए । शुक्रबार उनी बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुनेछन् ।

शनिबार छिमेकी जिल्ला इलामको चुलाचुलीमा हुने कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको ओलीका निर्वाचन क्षेत्रीय प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए । ०७४ को निर्वाचनपछि पटक–पटक झापा आइरहेको भए पनि ओली यति लामो समय बस्ने गरी भने यसपटक मात्र आएका हुन् । ‘व्यस्त थिएँ । बारम्बार आइरहन गाह्रो हुन्छ,’ ओलीले दमकमा भएको कार्यकर्ता भेलामा भने, ‘व्यस्तताबीच आफ्नो निर्वाचन क्षेत्रलाई पनि समय दिनुपर्छ भनेर आएँ ।’

ओलीका निर्वाचन क्षेत्रीय प्रतिनिधि थापाका अनुसार बिहीबार ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दमक, कमल, गौरादह र गौरीगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेलामा सहभागी भए । उनको निर्वाचन क्षेत्र झापा–५ मा चारवटा स्थानीय तह छन् । गत वैशाखमा भएको स्थानीय तहमा एमालेले यो क्षेत्रमा सन्तोषजनक परिणाम ल्याउन सकेन । ०७४ मा दमक र कमलमा प्रमुख/उपप्रमुख, गौरादहमा उपप्रमुखसहित बहुमत जितेको एमालेले यसपटक भने गौरादहमा मात्र प्रमुख/उपप्रमुख जित्न सफल भयो । ओलीको गृहनगर दमकमा एमालेले दुईतिहाइ बहुमत ल्याए पनि प्रमुख/उपप्रमुख जित्न सकेन । बिहीबार दमकमा भएको कार्यकर्ता भेलामा नगर प्रमुख/उपप्रमुख हारेकोमा ओली असन्तुष्ट देखिन्थे ।

आफ्नै क्षेत्र असुरक्षित 
स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने आउने प्रतिनिधिसभा निर्वाचनमा ओलीकै क्षेत्र असुरक्षित देखिन्छ । ओलीको निर्वाचन क्षेत्रका स्थानीय तहमध्ये दुईमा कांग्रेस एकमा राप्रपा र एकमा एमाले विजयी भयो । ओलीले बिहीबार दमकमा भएको कार्यकर्ता भेटघाटमा स्थानीय तह निर्वाचनको मतपरिणामप्रति असन्तुष्टि जनाए । ‘यसपटक दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको छ । स्थानीय तह निर्वाचनमा कमीकमजोरी भयो,’ ओलीले भने, ‘आगामी दिनमा यस्तो कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ ।’ उनले काठमाडौं बसेर भए पनि कुन चिह्नमा छाप लागेको छ भन्ने हेरिरहेको बताए । ‘दमकमा चार–पाँचवटा बाच्छा मिलेर आएर एउटा साँढेलाई ढाले भन्नु शोभनीय हुँदैन । एमाले एमालेजस्तो हुनुपर्छ । दमकमा एमालेजस्तो पार्टी हार्नु ठीक हैन,’ उनले भने । 

दमकमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ०६४ सालको संविधानसभा निर्वाचन सम्झिए । उक्त निर्वाचनमा ओली तत्कालीन झापा क्षेत्र नम्बर ७ (हालको क्षेत्र नम्बर ५)बाट पराजित भएका थिए । उनलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन (अहिले कांग्रेस)ले हराएका थिए । 

‘०६४ सालमा हारेँ । गल्तीले भोट अर्कोतिर हाले । आफ्नो पार्टीको मत पनि अर्कोतिर गयो । एउटा केटोलाई जिताए । एक वर्ष नबित्दै नराम्रो काम गरिएछ भन्ने भयो,’ ओलीले भने, ‘यस्तो गर्न हुँदैन । गल्ती कहिलेकाहीँ हुँदोरहेछ ।’ उनले झापा क्षेत्र नम्बर ५ मा आफूले जित्दा देशले जित्ने र आफूले हार्दा देशले हार्ने बताए । ‘झापा–५ मा हार्दा देशले हार्छ । जित्दा देशले जित्छ । मैले ०६४ को निर्वाचनमा हार्दैगर्दा अब संविधान बन्न सक्दैन भनेको थिएँ । दुईपटक म्याद थप्दा पनि बनेन,’ उनले भने, ‘०७० मा म निर्वाचित भएपछि संसद्को रोस्टमबाट संविधान बनाउँछौँ भनेको थिएँ । समस्याका बाबजुद संविधान बन्यो । एउटा व्यक्तिको पछि विरोधी लाग्नुपर्ने केही कारण छ । झापा–५ वासीले आफ्नो प्रतिनिधिमार्फत देश विकास गर्ने मौका पाए ।’

सुझावित समाचार