संसदीय विशेष छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए–नभएको यकिन गर्न सकेको छैन । समितिले मंगलबार बजेट आउने अघिल्लो दिन १४ जेठ रातिको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिकभर’ गरेर हेरेको छ ।
समितिले फुटेज रिकभरका लागि अर्थबाट प्राप्त हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । रिकभर भएर सोमबार आएको भिडियो फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको हो । समितिले मंगलबार बिहान ५१ भिडियो क्लिप हेरेको थियो ।
समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार फुटेजका क्लिप अस्पष्ट भएपछि मंगलबार साँझ नै फरेन्सिक ल्याबका विज्ञसँग पनि परामर्श गरिएको छ । समिति सदस्यहरूले रिकभर फुटेजको गुणस्तर र मिति नदेखिएकोमा प्रश्न उठाएका थिए । विज्ञहरूले भने प्राविधिक हिसाबले त्यस्तो सम्भावना नभएको जवाफ दिएका छन् । ‘स्पष्ट नभएका विषयमा विज्ञहरूले आफ्नो धारणा राख्नुभयो । समितिलाई त्यसबारे बुझाउनुभयो । त्यसपछि उहाँहरूलाई पठाएर प्रतिवेदन कसरी लेख्ने भन्नेमा केन्द्रित भयौँ । सिसिटिभी फुटेजमा धेरै छलफल भएन,’ अर्यालले भने । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छ–छैन भन्ने जवाफ प्रतिवेदनमै आउने उनको भनाइ छ ।
प्रतिनिधिसभाले २२ असारमा छानबिन समिति गठन गरेको थियो । त्यही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए । समितिले २८ असारबाट काम थालेको थियो । १० दिन समयसीमा पाएको समितिको अधिकांश समय १४ जेठ रातिको फुटेज खोज्नमै बित्यो । समितिकै अनुरोधमा ५ साउनमा सात दिनको समय थपिएको थियो ।
‘सिसिटिभी फुटेजलगायत जति पनि संकलन गरिएका कागजात, विभिन्न व्यक्तिसँगको बयानका आधारमा बुधबार दिनभर छलफल गरेर हामी निष्कर्षमा पुग्छौँ र प्रतिवेदन लेखनमा जान्छौँ,’ सचिव अर्यालले भने ।