नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आगामी निर्वाचनमा कांग्रेसको लक्ष्य एकल बहुमतको सरकार बनाउने हुनुपर्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै सिवाकोटीले स्थानीय तह निर्वाचनको परिणामका आधारमा आगामी निर्वाचनमा कांग्रेसलाई कसैको बैसाखीविना नै ठूलो पार्टीको रूपमा उभ्याउनुपर्ने बताएका हुन्।
सिवाकोटीले पार्टीलाई एक बनाएर निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याएका छन्। ‘संघीय र प्रदेशको निर्वाचन मिति घोषणाकै सम्मुखमा हामी यो समीक्षा गरिरहँदा हाम्रो लक्ष्य एकल बहुमतको सरकारको हुन जरुरी छ,’ बैठकमा उनको भनाइ थियो, ‘तर यसको लागि पार्टीभित्रैका फरक मतहरूलाई प्रतिपक्षी देख्ने हाम्रो प्रवृत्तिमा सबै तहमा सुधार हुन जरुरी छ। जहाँ जसले सक्यो फरक मत राख्नेलाई साइजमा राख्ने काम बन्द हुनुपर्छ।’
उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनको समीक्षा गर्दै कतिपय आरोप कांग्रेसप्रति लगाएको अवस्थाका यसबारे कांग्रेसले पनि समीक्षा गरेर जानुपर्ने धारणा राखेका थिए। उनले पार्टी विधानअनुसार पार्टी सञ्चालन हुनुपर्ने भन्दै ध्यानाकर्षणसमेत गराएका छन्। साथै, आगामी निर्वाचनमा नयाँ पुस्तालाई सम्बाेधन गर्ने कार्यक्रम ल्याउनुपर्ने र कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने गरी रणनीति बनाउनुपर्नेमा जोड दिए ।
‘पार्टीमा कसैलाई पक्षपात नहुने प्रत्याभूति दिलाऊँ। आगामी निर्वाचनलाई लक्षित गर्दै एकताबद्ध पार्टी अभियान सञ्चालन गरौँ। नयाँ पुस्तालाई सम्बाेधन गर्ने कार्यक्रम ल्याऊँ। युवा पुस्तालाई कम्तीमा ५० प्रतिशत प्रत्यक्ष उम्मेदवार बनाउने गरी रणनीति बनाऊँ,’ सिवाकोटीको भनाइ थियो ।