करिब तीन महिनाअघिसम्म रणबहादुर थापा बाजुराको बुढीगंगा नगरपालिकामा कार्यालय सहयोगीको रूपमा काम गर्थे । जनप्रतिनिधि र कर्मचारीहरूलाई आवश्यक पर्ने सहयोगदेखि सेवाग्राहीलाई समेत सहयोगीका रूपमा सहजीकरणको काम गर्ने उनै थापा गत बिहीबार भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष बनेका छन्। बुढीगंगा नगरपालिका– १मा थापा विजयी भएका हुन्।
यसअघि बुढीगंगा नगरपालिका– १ मा कार्यालय सहयोगीको भूमिकामा रहेका थापा अब भने जनतासँग प्रत्यक्ष जाेडिने पदमा पुगेका छन्। गत बिहीबार भएको निर्वाचनमा उनले नेकपा एमालेबाट सोही वडाको वडाध्यक्षमा उम्मेदवारी दिएका थिए। कार्यालयको सहयोगीका रूपमा काम गर्दै आएका थापाले तीन सय ५३ मत प्राप्त गरी विजयी भएका छन्।
यस वडामा जम्मा मतदाता संख्या आठ सय ३१ छ। थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस लोगबहादुर थापाले तीन सय १८ मतले ल्याएका थिए। वडाध्यक्षमा निर्वाचित थापाले यसअघि गैरसरकारी कार्यालय, समाजसेवी र वडा कार्यालयमा कार्यालय सहयोगीको रूपमा काम गरेका थिए।
वडामा सहयोगीको भूमिकामा रहेर गरेको काम र जनताले रुचाएका आधारमा वडाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए। आफूलाई जनताले मूल्यांकन गरी दिएको मतलाई कदर गर्दै वडामा काम गर्ने वडाध्यक्ष थापाको भनाइ छ। वडाध्यक्षको उम्मेदवार बन्न थापाले कार्यालय सहयोगीबाट राजीनामा दिएका थिए।