काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी, सेनालगायत राज्यका संवेदनशील अंगहरू नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु दुःखद भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उन्नत लोकतन्त्रमा जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कोही पनि कानुन तथा सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने उल्लेख गरेका छन् ।
भट्टराईले राज्यका विभिन्न अंगमा रहेका विकृति र विसंगति अन्त्य नगरी सुशासन स्थापना गर्न नसकिने बताएका छन् सुशासनविना समृद्धिको मार्गमा अघि बढ्न नसकिने उनकाे भनाइ छ।
साथै, सबै पक्षलाई एकैसाथ निशाना बनाउँदा कुनै पनि समस्याको प्रभावकारी समाधान निस्कन नसक्ने टिप्पणी गर्दै उनले लोकतन्त्रमा सत्ताको नेतृत्वमा रहनेहरूले समेत विधिको पालना गर्नुपर्नेमा जोड दिएका छन् ।