बर्दिया । कोलाहलबाट टाढा एकान्तमा रमाउन चाहनेहरूका लागि ट्री–हाउस आकर्षक गन्तव्य बनेको छ। सामुदायिक वनको बिचमा निर्माण गरिएका यस्ता ट्री–हाउसमा बसेर पर्यटकले जंगलको प्राकृतिक वातावरणसँगै वन्यजन्तुको गतिविधि नजिकबाट अनुभव गर्न सक्छन्।
यी ट्री–हाउस आसपास दैनिक बाघ, चितुवा, चित्तललगायत वन्यजन्तुको आवतजावत हुने गर्छ। कहिलेकाहीँ वन्यजन्तु ट्री–हाउसको मुनि आएर बस्ने गर्छन् भने हात्तीका बथानसमेत त्यही बाटो भएर हिँड्ने गरेका छन्।
जंगलको बिचमा रात बिताउनु सबैका लागि सहज र सामान्य कुरा होइन। तर, साहसिक तथा रोमाञ्चक अनुभव लिन चाहनेहरूका लागि भने यस्तो बसाइ आकर्षणको केन्द्र बन्ने गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा हाल तीनवटा ट्री–हाउस सञ्चालनमा छन्। यहाँ बस्न देश तथा विदेशबाट पर्यटक आउने गरेका छन्।
ठाकुरबाबा नगरपालिका– ९ स्थित बिन्द्रापुरी र बानुगाउँ मध्यवर्ती सामुदायिक वनमा दुईवटा ट्री–हाउस छन्। त्यस्तै, मधुवन नगरपालिका– १, डल्लास्थित शिव सामुदायिक वनमा अर्को ट्री–हाउस रहेको छ। पर्यटकलाई लक्षित गरी निर्माण गरिएका यी ट्री–हाउसमा वार्षिक एक हजारभन्दा बढी पर्यटक आउने गरेको बताइएको छ।
सामुदायिक वन क्षेत्रमा पुग्दा बाघ, चितुवा, गैँडा, हात्ती, नीलगाई, चित्तल, मयूरलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ। जंगलको आफ्नै प्राकृतिक नियम हुने भएकाले यहाँ पुग्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। ट्री–हाउसमा बस्न जाने पर्यटक अनिवार्य रूपमा उज्यालो छँदै त्यहाँ पुग्नुपर्छ। एकपटकमा पाँचदेखि ६ जनासम्म बस्न सक्ने व्यवस्था रहेको छ।
ट्री–हाउसमा बस्नका लागि अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ। बिन्द्रापुरी मध्यवर्ती सामुदायिक वनका अनुसार एक रात बसेको नेपाली पर्यटकले प्रतिव्यक्ति पाँच सय रुपैयाँ र विदेशी पर्यटकले सात सय रुपैयाँ शुल्क तिर्नुपर्छ। त्यहाँ बस्न जाने पर्यटकले खानेकुरा र पानी आफैँ लिएर जानुपर्छ। ट्री–हाउसमा बस्दा होहल्ला गर्न भने पाइँदैन।
ठाकुरबाबा नगरपालिका– ९ को बनतरिया गाउँनजिकै रहेको ट्री–हाउसमा बसेर फर्किएका गुलरिया नगरपालिका– ४ का सुशील ज्ञवालीले त्यहाँको बसाइ आरामदायी र अविस्मरणीय रहेको बताए।
‘हामी केही साथी मिलेर त्यहाँ बस्न गएका थियौँ। रातभर विभिन्न वन्यजन्तु र चराचुरुंगीको आवाज सुनियो। साँच्चिकै त्यो बसाइ मेरो लागि नयाँ अनुभव थियो। त्यो रातको अनुभव शब्दमा व्यक्त गर्न सक्दिनँ। यस्तो नवीन अनुभव लिन फेरि पनि जाने सोच बनाएको छु,’ उनले भने।
त्यस्तै, ट्री–हाउसमा बसेर फर्किएका गुलरिया नगरपालिका– ४ कै अमरराज लम्सालले जंगलभित्रको यात्रा र त्यहाँको बसाइ रोमाञ्चक रहेको बताए। उनका अनुसार ट्री–हाउस जानका लागि मोटरसाइकल बनतरिया गाउँमा एकजना साथीको घरमा राखेर करिब २० मिनेट पैदल हिँड्नुपर्छ।
‘मोटरसाइकल राखेर जंगल प्रवेश गरेको पाँच मिनेटजति भएको थियो। नजिकै बाघ करायो। बाघको आवाज सुनेपछि डर पनि लाग्यो। त्यहाँका साथीहरूले बाघ टाढा छ, आत्तिनुपर्दैन भनेर सम्झाएपछि मन ढुक्क भयो। त्यसपछि हामी ट्री–हाउस पुग्यौँ,’ उनले भने।
उनले बिहान फर्किने क्रममा आफूहरू हिँडेकै बाटोमा बाघका पाइला देखिएको सुनाए। ‘बिहान ट्री–हाउसबाट फर्किँदै गर्दा हामी अघिल्लो साँझ गएको बाटोमै बाघका पाइला देख्यौँ। पाइला देख्नेबित्तिकै मनमनै धन्न बाँचिएछ भन्ने लाग्यो। अघिल्लो साँझ बाघसँग जम्काभेट नभएकोमा राहत महसुस भयो,’ उनले भने।
एकान्त जंगलको बिचमा रहेको ट्री–हाउसमा साथीभाइ तथा परिवारसँग समय बिताउन सकिन्छ। यहाँ वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न र तिनका आवाज सुन्न पाइन्छ। ट्री–हाउसमा विद्युत् सुविधा छैन। त्यसैले रातको समयमा मैनबत्तीको उज्यालोमा खानाको व्यवस्था गर्न सकिन्छ। राति बार्दलीमा बसेर वन्यजन्तुको गतिविधि नियाल्न सकिने भएकाले प्रकृति तथा वन्यजन्तुप्रेमीका लागि यो उपयुक्त गन्तव्य बनेको छ।
सेवासुविधाका हिसाबले पनि ट्री–हाउसमा आवश्यक आधारभूत व्यवस्था गरिएको छ। यहाँ शौचालय, खाना खानका लागि टेबुल र कुर्सी तथा सुत्नका लागि आरामदायी बिस्तारा उपलब्ध छन्। जंगलको बिचमा रहेको र वन्यजन्तुको गतिविधि नजिकबाट अनुभव गर्न पाइने भएकाले यहाँको बसाइ रोमाञ्चक र साहसिक हुने गरेको छ।
प्रकृति पथप्रदर्शक नारायण चौधरीले बर्दियाको पर्यापर्यटन प्रवर्द्धनमा ट्री–हाउसको महत्त्वपूर्ण भूमिका रहेको बताए।
‘एकान्त जंगलको बिचमा रात बिताउनु सामान्य कुरा होइन। ट्री–हाउसमा बस्नु भनेको प्रकृतिसँग रमाउनु हो। जंगलको बिचमा रात बिताउनु आफैँमा नयाँ र नौलो अनुभव हो। यहाँ बस्दा चितुवा, बाघ, हात्ती र चित्तलका बथान अवलोकन गर्ने अवसरसमेत मिल्छ,’ उनले भने।
पछिल्लो समय ट्री–हाउसमा घुम्न तथा बस्न आउने पर्यटकको संख्या बढ्दै गएको चौधरीले बताए। उनका अनुसार बर्दियाको पर्यटन उद्योगलाई थप प्रवर्द्धन गर्न यस्ता नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार आवश्यक छ।
‘बर्दियामा बाघले मान्छे मार्यो भन्ने समाचार बढी प्रचार हुने गरेको छ। यसले पर्या–पर्यटन उद्योगमा असर पुर्याएको छ। बाघ स्वभावैले लजालु वन्यजन्तु हो र सामान्यतया मानिसको सम्पर्कमा आउन चाहँदैन। त्यसैले बर्दिया घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय क्षेत्रबारे सही जानकारी दिँदै सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न आवश्यक छ। फरक अनुभव र अनुभूति गर्न चाहने पर्यटकका लागि ट्री–हाउस महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ,’ उनले भने।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा पाइने जैविक विविधता तथा प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोड्न सके यस क्षेत्रको पर्यापर्यटनले थप गति लिन सक्ने देखिन्छ। जंगलको शान्त वातावरणमा वन्यजन्तुको आवाज सुन्दै रात बिताउने अवसरले ट्री–हाउसलाई बर्दियाको फरक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।