माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्दै केन्द्रीय सदस्य

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका छन् । सोमबारको बैठकमा ४६ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । 

धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कि विकल्पमा जाने भन्नेबारे मत बाझिएको छ । कांग्रेससहितको पाँचदलीय गठबन्धन वा नयाँ गठबन्धनबारे नेताहरूको मिश्रित धारणा छ । 

अधिकांश केन्द्रीय सदस्यले कांग्रेसलाई हावी हुन नदिने गरी गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धन गरेर निर्वाचनमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा उनीहरूको जोड छ । 

हरिबोल गजुरेल, नेता, माओवादी

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न ढिला भइसक्यो । पहिले नै गठन गरेर गएको भए हामीले स्थानीय तहमा कम्तीमा २५ सिट बढी जित्ने थियौँ । अब ढिला गर्नुहुँदैन । अध्यक्षले एउटा प्रस्ताव पेस गर्नुपर्छ । यदि चित्त बुझेन भने चुनावबाट भए पनि टुंगो लगाउनुपर्छ।

केन्द्रीय सदस्य झक्कु सुवेदी, सालिकराम जम्कट्टेल, देवी खड्कालगायतले पार्टी संगठनलाई बलियो बनाउँदै सम्मानजनक सिटसहितको गठबन्धन हुनुपर्नेमा जोड दिएका हुन् । गठबन्धन मात्र भन्दा पार्टी किनारा लाग्न सक्ने भन्दै उनीहरूले पार्टी संगठन बलियो बनाउन सबै खटिनुपर्नेमा जोड दिएका छन् । बलियो संगठन बनाएर जानुपर्ने र आफ्नै खुट्टामा उभिएर गठबन्धन गर्दा त्यसले राम्रो प्रतिफल दिने उनीहरूको भनाइ छ । 

केही केन्द्रीय सदस्यले भने कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने सुझाव दिएका छन् । लेखनाथ न्यौपाने, पर्शुराम तामाङलगायतका केन्द्रीय सदस्यले विचार–सिद्धान्त मिल्ने शक्तिसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमबारको बैठकमा हरिबोल गजुरेल, ओम शर्मा, लेखनाथ न्यौपाने, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीलगायत ४६ जनाले सुझाव राखेका छन् । सदस्यलाई दुई मिनेटभित्र सुझाव राख्न समय दिइएको थियो । 

केन्द्रीय सदस्य गणेश साहले स्थानीय तहको निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछिको अवस्थाबारे अधिकांश सदस्यले बैठकमा संस्मरणयुक्त धारणा राखेका बताए । गठबन्धनको जगमा कांग्रेसले बढी सिट जित्ने र अन्य दललाई पाखा लगाउन सक्नेतर्फ वेलैमा सचेत हुनुपर्नेमा सदस्यहरूले जोड दिएको उनले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले चुनावका वेला भोगेका पीडा पनि पोखेका थिए । केही नेताले एकले अर्कालाई काम नगरेको आरोपसमेत लगाए । पार्टीमा परिवारवाद हावी भएको, चुनाव जितेपछि नेताले पार्टी काममा ध्यान नदिएकोलगायतका गुनासा पनि बैठकमा उठेका छन् । केन्द्रीय सदस्य मनोनीत गर्दा समावेशी नभएकोसमेत बैठकमा मुद्दा उठेको छ । बैठकमा प्रदेश अध्यक्ष केन्द्रीय सदस्य हुन नपाउने विधानको व्यवस्था परिवर्तन गर्नसमेत माग भएको छ । 

बैठकमा नेता गजुरेलले पार्टीका पदाधिकारी छिटो चयन गर्न माग गरेका छन् । केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले पदाधिकारीको नाम प्रस्ताव गर्न अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । ‘पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न ढिला भइसक्यो । पहिले नै गठन गरेर गएको भए हामीले स्थानीय तहमा कम्तीमा २५ सिट बढी जित्ने थियौँ । अब ढिला गर्नुहुँदैन,’ उनको भनाइ थियो, ‘अध्यक्षले एउटा प्रस्ताव पेस गर्नुपर्छ । यदि चित्त बुझेन भने चुनावबाट भए पनि टुंगो लगाउनुपर्छ ।’ 

पार्टीको केन्द्रीय समिति बैठकमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठनमा अराजकता देखिएको भन्दै समस्या समाधान गरिदिन अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएकी छिन् । केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार मंगलबारको बैठकमा प्रचण्डले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
 

See More On

सुझावित समाचार