यी हुन् जसपाबाट नयाँ बन्ने मन्त्री

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएलगत्तै  नयाँ तीनजनाको नाम सिफारिस गरेको छ ।  भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले यसअघिका भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाएको हो । 

मन्त्रीमा सिफारिस भएका सांसद यादवले पार्टीले मन्त्री परिवर्तनका  लागि सिफारिस गरेको  जानकारी दिए । उनले भने, ‘पार्टीले मन्त्रीहरू सिफारिस गरेको हो, शपथको टुंगो भएको छैन ।’  जसपाभित्र ६ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो ।

See More On

सुझावित समाचार