सभामुख अग्निप्रसाद सापकोटाले ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताएका छन् । असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानको बाकुमा जारी ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनलाई बिहीबार साँझ सम्बोधन गर्दै उनले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीलाई सम्बोधनका लागि नेपालको सहयोग र ऐक्यबद्धता रहने स्पष्ट पारेका छन् ।
‘नेपाल असंलग्न आन्दोलनका सदस्यहरूसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्न चाहन्छ । प्रगति, समृद्धि, न्याय र समानतामा आधारित साझा भविष्यका लागि हामी आन्दोलनलगायत विश्वका सबै नेतालाई हातेमालो गर्न आह्वान गर्दछौँ,’ सभामुख सापकोटाले भने । सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई परराष्ट्र नीतिको अभिन्न अंगका रूपमा समेटेको जानकारी गराए । उनले भने, ‘नेपाल असंलग्न आन्दोलनको सिद्धान्तलाई कायम राख्नुपर्छ, न्यायपूर्ण विश्वको समर्थनमा आवाज उठाउनुपर्छ र कमजोर देशका लागि समर्थन सुनिश्चित गर्नुपर्छ भन्ने दृढ धारणा राख्दछ ।’
सभामुख सापकोटाले ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ आन्दोलनको मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन कोसेढुंगा साबित भएको पनि उल्लेख गरे । संसदीय सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्दै असंलग्न मूल्यलाई गहिरो र विस्तार गर्न संसद्हरूलाई सक्षम बनाउने सभामुखले विश्वास व्यक्त गरे । ‘असंलग्न आन्दोलन विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वावलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको छ । हामीले सामूहिक रूपमा द्वन्द्व र चुनौतीलाई न्यूनीकरण गरेका छौँ,’ सभामुख सापकोटाले भने, ‘उपलब्धिहरूका बाबजुद हामीले द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक मन्दी, मूल्यवृद्धिसम्मका नयाँ र दोहोरिने समस्याको सामना गरिराखेका छौँ । धनी र गरिबबीचको असमानता बढ्दै गएको छ भने ऊर्जा संकट र खाद्य असुरक्षा पनि सूचीमा थपिएका छन् ।’
सभामुख सापकोटाले विश्वले हतियारको दौडको अभूतपूर्व स्तर देखेको, महाशक्तिहरू र महत्वाकांक्षी शक्तिहरूबीच पनि सैन्य खर्च बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । सम्मेलन १८ असारसम्म चल्नेछ । सभामुख सापकोटाको नेतृत्वमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक १४ असारमा अजरबैजान प्रस्थान गरेका हुन् । सभामुख नेतृत्वको प्रतिनिधिमण्डल १९ असारमा फर्किने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।