मलेसियाविरुद्ध नेपाल २५ रनले विजयी

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

मलेसियामा जारी आइसिसी यू– १९ महिला टी– २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर मात्र ६१ रन बनाउन सक्यो।

कसिलो बलिङ गरेको नेपालसामु मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिक २८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। ऐनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नूर अबेदुल समदले पाँच रनको पारी खेलिन्। बलिङतर्फ नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनीषाकुमारी उपाध्यायको नाममा एक विकेट रह्यो।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले पूरा २० ओभर खेल्दै सात विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो। नेपालकी अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउँदा आश्मा पुलामीले २६ रन बनाइन्। मलेसियाकी नूर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए।

जित निकाले पनि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग भने १० विकेटले पराजित भएको थियो। यस्तै, तेस्रो खेलमा भुटानविरुद्ध चार विकेटको जित निकालेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो।

प्रतियोगितामा नेपाल, युएई, थाइल्यान्ड, भुटान र कतारले सहभागिता जनाएका थिए। शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यू– १९ को विश्वकप खेल्नेछ। छनोटमा युएई आठ अंक जोडेर शीर्ष स्थानमा रहँदा थाइल्यान्ड समान आठ अंकसहित दोस्रो स्थानमा छ। थाइल्यान्ड र युएईबीचको विजयी टोलीले विश्वकपमा स्थान बनाउनेछ।

सुझावित समाचार