गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसीथोक रौताडीका ३४ वर्षीय राजु पोख्रेलको रूखबाट लडेर मंगलबार ज्यान गएको छ । उनी घाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका थिए । अचेत पोख्रेललाई तम्घास अस्पतालले मृत घोषणा गरेको छिमेकी तथा पत्रकार महासंघ गुल्मीका सदस्य हुमाकान्त पोख्रेलले जानकारी दिए ।
गुल्मीमा भवितव्यमा परेर ज्यान गुमाउनेको संख्या धेरै रहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भवितव्यमा परेर १० महिनामा ४१ जनाको ज्यान गएको छ । त्यस्तै, १३ वटा फुटकर ज्यान मुद्दा दर्ता गरेर प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
प्रहरीका अनुसार चट्याङ, करेन्ट, डुबेर, आगोमा परेर र हिँड्दा लडेका वा रूखबाट खसेर भएका मृत्युलाई भवितव्य भन्ने गरिएको छ । नागरिकको अचानक ज्यान गयो । तर, ज्यान जानुको कारण नखुलेको हकमा फुटकर ज्यान भन्ने गरिएको निमित्त प्रहरी प्रमुख खरेलले बताए । केही समय पहिले इस्मा गाउँपालिका– १ का ४९ वर्षीय डिल्लीराज पन्थी पनि गाउँकै सडकबाट लडेर अचेत बने । उपचारको क्रममा केही दिनपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चट्याङबाट चारजनाको मृत्यु
१० महिनामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । सोमबार मात्रै जिल्लाको इस्मा गाउँपालिका– ५ की ४० वर्षीया तारा सार्कीको ज्यान गएको छ । केही दिन पहिले मदाने गाउँपालिका– ४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर ज्यान गएको थियो । गत साउनमा इस्मा गाउँपालिका– ४ का ११ वर्षीय राहुल गन्दर्भ र मालिका– २ की २८ वर्षीया मकला प्रतेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
करेन्टबाट चारजनाको मृत्यु
जिल्लामा करेन्ट लागेर पनि चारजनाले ज्यान गुमाएका छन् । इस्मा गाउँपालिका– २ छल्दीका ३९ वर्षीय गोकर्ण थापा बिजुली बनाउने वेलामा करेन्ट लागेर गत १ वैशाखमा घाइते भए । उनको उपचारको क्रममा ज्यान गयो । त्यस्तै, चन्द्रकोट गाउँपालिका– ५ की २७ वर्षीया सरिता थापाले खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गुमाइन् ।
आगोमा जलेर ६ जनाको मृत्यु
आगोमा जलेर पनि जिल्लामा ६ जनाले ज्यान गुमाएका छन् । धुर्कोट गाउँपालिका– ४ की ७८ वर्षीया मोतीकुमारी भण्डारीलाई गत १२ फागुनमा चिया पकाउने वेला शरीरमा आगो सल्कियो । उनी आगोले पोलेर गम्भीर घाइते भइन् । परिवारले थप उपचारका लागि बाहिर अस्पतालमा पुर्याए । तर, उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यो वर्ष एउटा मात्रै बेवाारिसे शव फेला परेको छ । चन्द्रकोट गाउँपालिका– ७ को म्यालपोखरीस्थित चिलाउनेको रूखमा झुन्डिएको अवस्थामा सडेको शव फेला परेको थियो । शव पहिचानको प्रयासपछि रेसुंगा नगरपालिकामार्फत अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।