यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले गहुँको समर्थन मूल्य निर्धारण, बुढीगण्डकी बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा, बाढीपीडितलाई राहत सुविधा प्रदान गर्नेलगायतका विभिन्न निर्णयहरू गरेको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठकका निर्णयहरबारे जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले बुढीगण्डकी विकास प्राधिकरण र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै जापान र जर्मनीबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेलगायतका निर्णयहरू गरेको छ।

हेर्नुस् बैठकका निर्णयहरू :
१. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने,

२. जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येनबराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मनी प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने,

३. बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने,

४. फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को प्रारम्भ हुन बाँकी दफाहरूमध्ये दफा १७ को खण्ड (ङ), दफा २५ र दफा २६ वि.सं. २०८३ कात्तिक १५ गतेदेखि प्रारम्भ गर्ने,

५. आ.व. २०८३–८४ को लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य रु. ४,१०७ प्रतिक्विन्टल तोक्ने,

६.
(क) बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ र २ लाई ०८३ असोज ८ गतेदेखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अतिप्रभावित, बागलुङ जिल्लाका थप दुईवटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाको अवधिका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने,

(ख) उक्त स्थानीय तहका क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारहरूले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था नभएसम्मका लागि बढीमा ६ महिनाका लागि तत्काल राहतस्वरूप बसोबास र जीविकोपार्जनका लागि चारजनासम्मको सदस्य संख्या भएका परिवारलाई प्रतिपरिवार प्रतिमहिना रु. १५,००० र सोभन्दा बढी सदस्य भएको परिवारको लागि प्रतिसदस्य थप रु. २,००० प्रतिमहिना प्रदान गर्ने,

७. सामुद्रिक पारवहन सहयोगसम्बन्धी बिमस्टेक सम्झौता अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति दिने,

८. राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने,

९. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति गठन (चौथो संशोधन) आदेश, २०८३ स्वीकृत गर्ने,

१०. दाना पदार्थ (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने,

११. पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने,

१२. अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने स्वीकृति प्रदान गर्ने,

१३. आ.व.२०८१–८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने।

सुझावित समाचार