खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्च परिसरको संरचना आफ्नै खर्चमा मर्मतसम्भार गर्ने भएको छ। कांग्रेसले खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन नयाँ दुबो रोप्ने तथा आवश्यक मर्मतसम्भार गर्ने सम्झौता गरेको हो।

असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा क्षति पुगेको क्षेत्रलाई पुनर्स्थापना गर्न कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ। काठमाडौं महानगरपालिकाको नियम तथा मापदण्डअनुसार खुलामञ्चलाई पुरानै अवस्थामा फर्काइने कांग्रेसले जनाएको छ।

मर्मतसम्भारसम्बन्धी सम्झौतापत्रमा कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चका विभिन्न भागमा जमिन सम्याएर उच्च गुणस्तरको दुबो रोपिनेछ। साथै, प्राविधिक रेखदेखमा दुबोको उचित स्याहार तथा संरक्षण गरिनेछ। यस कार्यमा लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेसले नै व्यहोर्ने सहमति भएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए।

खुलामञ्चको पुनर्स्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएको छ। सुरुका १५ दिनभित्र दुबो रोप्ने काम सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने तथा परिसरलाई हराभरा बनाउने कार्य गरिनेछ।

दुबो रोप्ने, स्याहार गर्ने तथा संरक्षण गर्ने कार्यमा नेपाली कांग्रेस काठमाडौं महानगर समितिलाई स्वयंसेवक परिचालनको जिम्मेवारी दिइएको छ। उक्त कार्यको संयोजन काठमाडौं महानगर समितिका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन्।

काम पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौं महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्च परिसरलाई हस्तान्तरण गरिने वैद्यले बताए।

वित्तीय सम्झौताअनुसार कुल सम्झौता रकमको ८० प्रतिशत पेस्कीका रूपमा उपलब्ध गराइनेछ भने बाँकी २० प्रतिशत रकम काम सम्पन्न भएपछि भुक्तानी गरिनेछ।

सार्वजनिक कार्यक्रम आयोजना गरेपछि स्थललाई पुनः व्यवस्थित र हराभरा बनाउने उद्देश्यसहित कांग्रेसले मर्मतसम्भारको जिम्मेवारी लिएको जनाएको छ। यस कदमले सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय संवेदनशीलताप्रति राजनीतिक दलको जिम्मेवारीलाई जोड दिएको छ।

सुझावित समाचार