कांग्रेसको १५औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो । 

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।
 
त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खसआर्य र थारूतर्फको मतगणना पनि राति अबेर सकिएको उनले बताए । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो ।
 
गत असोज २३ गते मतदान गरी त्यही दिन राति सभापतिको मतगणना गरेर सुरु भएको मतगणना कार्य झन्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो । 

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा गरिएको थियो । १४औँ महाधिवेशनमा चार हजार सात सय मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए । 

उनका अनुसार गणना सुरु भएकै दिनदेखि दिन र रातमा झन्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।
 
यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताए । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो । 

अघिल्लो महाधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्यसचिव कटुवालको दाबी छ । उनका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दसैँलगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् । उक्त बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बुझिएको छ ।

सुझावित समाचार