यौन हिंसासम्बन्धी विधेयक नपाएको भन्दै एमालेले गर्‍यो प्रतिनिधिसभा बैठक अवरोध

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

यौन हिंसासम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, ०७९ प्रतिनिधिसभामा पेस भएको छ। शुक्रबारको बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माले प्रस्ताव पेस गरेका हुन्। उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलिरहँदा एमालेले संसदमा अवरोध पुर्याएको छ । सांसदलाई विधेयक नबाँडी छलफल चलाइएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

विधेयकमाथि सैद्धान्तिक छलफल चलिरहँदा एमाले सचेतक शान्ता चौधरीले उठेर विरोध गरेकी थिइन् । आफूहरूले विधेयक नपाएको उनको भनाइ थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक सांसदहरूलाई बाँडिसकेको जवाफ दिए । उनले भने, ‘गत १७ गते पिजन हलमा राखिएको छ, हेर्नुहोला ।’

तर, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘पिजन होलमा’ विधेयक नरहेको बताए। सभामुखसँग विशेष समय लिएर उनले भने, ‘पिजन हलमा छैन, मैले त्यहाँ बस्नुभएका संसद्का कर्मचारीहरूलाई अहिले भर्खर गएर सोधेँ । उहाँहरूले ‘यो आएको छैन’ भन्नुभयो ।’विधेयक नपाएको भन्दै एमालेले विरोध जारी राखेपछि सभामुखले बैठक स्थगित गरे ।

संसद् सचिवालयका एक कर्मचारका अनुसार १७ जेठमा उक्त विधेयक पिजन हलमा राखिएको थियो । पिजन हलमा नहेरी एमाले सांसदहरूले विरोध गरेको ती कर्मचारीले बताए । प्रतिनिधिसभा नियमावलीले पिजन हलमा राखेको सामग्री सम्बन्धित सांसदले स्वतः पाएको मानिने व्यवस्था गरेको छ ।
 

सुझावित समाचार