चन्द्रागिरिमा आएको बाढीले बस्ती जोखिममा
चन्द्रागिरि नगरपालिकास्थित पानीमुन खोलामा गत १९ वैशाखमा आएको बाढीले गरेको विनाश । तस्बिर : अमूल थापा/नयाँ पत्रिका
काठमाडौंका नौ तथा ललितपुर र भक्तपुरका दुई–दुई काँठ क्षेत्रका स्थानीय तहको स्थलगत रिपोर्ट
काठमाडौंका कागेश्वरी मनोहरा, शंकरापुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली, ललितपुरका गोदावरी र महालक्ष्मी तथा भक्तपुरका चाँगुनारायण र सूर्यविनायकका मतदाताले काठमाडौं उपत्यकामै भएर पनि अझै खानेपानी, सडक, बिजुलीको सुविधा नभएको, बिउबीजन, रासायनिक मलको सहज उपलब्धता तथा कृषिउपजको बजार व्यवस्थापनमा जनप्रतिनिधिले चासो नदेखाएको गुनासो गरेका छन् । यसअघिका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा आफूले गरेका वाचा पूरा नगरेको आरोप पनि उनीहरूको छ ।
चन्द्रागिरि र दक्षिणकाली
नगरवासी बाढीपहिरो र सडकको दुर्दशाबाट आजित
गत १९ वैशाखमा चन्द्रागिरि नगरपालिका पानीघाटको पानीमुन खोलामा दिउँसै बाढी आयो । ७१ वर्षकी ठूली स्याङ्तानले धन्न ज्यान जोगाइन् । जंगलसँगै टाँसिएको यो बस्तीमा बस्ने अब उनलाई अरू कुनै इच्छा छैन । त्यसैले अब आउने जनप्रतिनिधिले बस्ती स्थानान्तरण गरिदिए ज्यान जोगाउन सकिन्थ्यो कि भन्ने उनलाई लागेको छ । ‘भोट माग्न त दिनहुँ आउँछन् । के–के भन्छन् के–के ? म बुझ्दिनँ । घरचाहिँ सारिदिए हुने,’ स्याङ्तान भन्छिन्, ‘भोट हाल्ने वेला छोरीलाई लान्छन् । म आफू आँखा पनि देख्दिनँ । उसले जहाँ भन्छ, त्यहीँ हाल्ने हो ।’
पूर्ण लामाको पीडा पनि उस्तै छ । बाढीले उनको घरलाई क्षति गरेन । स्याङ्तानको घरले छेक्दा उनको घरमा बाढी पस्न नसकेको हो । ‘खोलामा बाढी पहिले पनि आउँथ्यो । तर, यस्तो डरलाग्दो कहिल्यै पनि आएको थिएन,’ लामाले भने, ‘थुप्रिएको गेग्रान त झिँगाको टाउको जति पनि आएको छैन । अझै कति आउने हो, थाहा छैन । बरु हामीलाई यहाँबाट सारिदिए हुन्थ्यो ।’ उनको टोलमा चुनाव जितेपछि तत्कालीन मेयर घनश्याम गिरि एकपटक आए, त्यो पनि फेरि भोट माग्न ।
चन्द्रागिरि गैरीगाउँकी जुनु केसी र पम्फा गिरिको घरपछाडि पानी पर्नेबित्तिकै ठूलो भेल आउँछ । बाटो बनाउँदा पानी जाने ढल राम्रोसँग नबनाएकाले पानी पर्नेबित्तिकै उनीहरूको सातो जान्छ । तर, तीन वर्षदेखि भेल नियन्त्रणका लागि वडामा धाए पनि केही हुन सकेको छैन । मन्दिर जाने सिँढी बनाउने जनप्रतिनिधिले उनीहरूको घर भने जोखिममै राखिदिए । त्यसैले अब आउने जनप्रतिनिधिले घरपछाडिको भेल नियन्त्रणका लागि काम गरिदिए आफूहरूका लागि ठूलो उपकार हुने उनीहरू बताउँछन् ।
दक्षिणकाली नगरपालिका बोसनका मतदाता पनि सडक स्तरोन्नतिसँगै स्वास्थ्य र रोजगारीको व्यवस्था भएमा आफ्नो क्षेत्रलाई सुख हुने बताउँछन् । ‘काठमाडौं उपत्यकाभित्र बसेर पनि पिछडिएको भनेको हाम्रै गाउँ हो । काठमाडौं नै हो भन्न पनि लाजमर्दो छ । बाटोको यस्तो समस्या छ । तराईको गल्लीगल्लीमा बाटो पुगेको छ । खै यहाँ बाटो ?,’ रामकाजी तामाङले भने, ‘बत्ती, पानी छ । बाटोको अलि समस्या हो । बाटो पिच भए । ढलान भए राम्रो हुने थियो ।’ ७२ वर्षीय पुरुषोत्तम बाँस्कोटा भने वृद्धभत्ता ६० वर्षमै लिने वातावरण भए धेरै सुख हुने तर्क गर्छन् । ‘हामी ६० वर्षदेखि काम गर्न सक्दैनौँ । त्यसैले अरूभन्दा नि वृद्धभत्ताचाहिँ ६० वर्षदेखि दिने व्यवस्था हुनुपर्यो,’ उनले भने ।
सूर्यविनायक, चाँगुनारायण
पहिलेका घोषणा पूरा नगरेकोमा पुराना जनप्रतिनिधिसँग स्थानीय रुष्ट
देशभर चुनावी सरगर्मी बढिरहँदा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी ३१ वर्षीया देवी दियालीलाई भने गहुँ स्याहार्न भ्याइनभ्याइ थियो । सायद उनलाई क्षणभरमै बदली हुने मौसमले दबाबमा राखेको छ । ‘चुनाव लागेको छैन ?’ प्रश्न भुइँमा खस्न नपाउँदै उनको ध्यान हामीतर्फ मोडियो । निधारको पसिना गम्छाले पुछिन् । आकाशमा जम्मा हुँदै गरेका बादलतर्फ एक नजर लगाइन् । हत्केलाले निधार अड्याउँदै उनले भनिन्, ‘निर्वाचन त नेतालाई पो लाग्या छ । हामीजस्तालाई त कामले फुर्सद भए पो ।’
चाँगुनारायण नगरपालिका–५ का ६४ वर्षीय इन्द्र श्रेष्ठलाई पनि निर्वाचनको रौनकले छोएको छैन । खेतमै भेटिएका उनलाई पनि गहुँबाली भित्र्याउने चटारोले भ्याइनभ्याइ छ । पानी नपर्दै भित्र्याउनुपर्ने बाध्यतामा रहेका उनले खेतमा मजदुर नै लगाएका छन् । घरदैलो अभियानमा रहेका उम्मेदवारसँग उनको बिहान–बेलुका मात्रै जम्काभेट हुन्छ । यसक्रममा उनले एमाले, कांग्रेस, माओवादी, राप्रपा सबै दलका स्थानीय नेता भेटेका छन् । तर, उनको विश्वास कसैले जित्न सकेका छैनन् । उनकै घर भएर बग्छ, बासुकी खोला । जग्गा माफियाले खोला मिच्न ह्युमपाइप बिछ्याउने योजना बनाएका छन् । घरभन्दा माथि ५५ रोपनी जग्गामा उनीहरूले नै प्लटिङ गर्दै छन् । उनीहरूकै योजनाअनुसार खोला मिचेर ह्युमपाइप राख्न खोजिँदै छ । उनीहरूलाई सघाउन नगरपालिकाले १५ लाख रुपैयाँ बजेट पनि दिएको छ । इन्द्र यही कारण रुष्ट छन्, स्थानीय नेतादेखि । उनी भन्छन्, ‘हाम्रो गाउँको खोला यिनीहरूले नै मिलेर मिच्दै छन् । भूमाफियासँग मिलेका छन् । हामी स्थानीयलाई दुःख दिँदै छन् । हुँदाहुँदा खोला नै मिच्ने भए ।’
टोखा नगरपालिका
रैथानेको समस्या पूरा गर्न माग
टोखा नगरपालिका सांस्कृतिक सहर हो । यहाँका नयाँ बस्ती स्मार्ट सिटीका रूपमा विकसित हुन थालेका छन् । तर, यहाँका रैथानेको समस्या भने अझै हल हुन सकेको छैन । चुनावी मैदानमा रहेका उम्मेदवारले विकासका प्रतिबद्धता जनाए पनि खेतीपाती गरेर जीविकोपार्जन गर्नेहरूको हकमा भने खासै बोलेका छैनन् । टोखा नगपालिका–२ खानेपानीकी ६१ वर्षीया नक्कली डंगोल खेतीपाती गरेर जीविका चलाउँछिन् । पति काँशी डंगोल घर बनाउने मिस्त्री हुन् । ‘एक रोपनी खेत छ, यसैमा फलेको अन्न खान्छौँ,’ माटोको गारो प्रयोग गरेर बनाइएको घरमा बस्दै आएकी उनले भनिन्, ‘बिउ, मल सबै बजारबाट किन्ने हो, नगरपालिकाले त कहाँ दिनु ?’ भूकम्पमा घर चर्किंदा पनि कसैले सहयोग नगरेको उनको गुनासो छ । सोही ठाउँकी स्वामा डंगोल भने स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफूहरूलाई सहज भएको बताउँछिन् । ‘पहिले जन्मदर्ता, नागरिकता सिफारिसका लागि पनि निकै समस्या हुन्थ्यो । अचेल त वडामै एकैछिनमा काम हुन्छ,’ उनले भनिन्, ‘सडक पनि बनेका छन् ।’ ११ वडा रहेको टोखामा मेयरमा पाँच स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका छन् भने उपमेयरका उम्मेदवार ६ जना छन् । कुल दुई सय ५१ उम्मेदवार छन् । एमालेले निवर्तमान मेयर प्रकाश अधिकारी र निवर्तमान उपमेयर ज्ञानमाया डंगोललाई उम्मेदवारमा दोहोर्याएको छ । कांग्रेसले रजनी थापालाई मेयरमा उम्मेदवार बनाएको छ ।
शंकरापुर र कागेश्वरी मनोहरा
उम्मेदवारको एजेन्डाभन्दा आफ्नै काममा चासो
काठमाडौंको काँठ क्षेत्र साँखुमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो पक्षमा चुनावी प्रचारप्रसार तीव्र बनाइरहेका छन् । तर, दल र उम्मेदवार चुनावी रौनकमा रहेका वेला रैथाने बस्ती क्षेत्रका स्थानीय भने त्यति उत्साहित छैनन् । शंखरापुर नगरपालिकाका कार्यालयबाट तीन सय मिटरजति मात्र पर बस्ने बसुन्धरा गौतममा स्थानीय निर्वाचनप्रति चासो छैन । चुनावमा कुन दलबाट को उम्मेदवार उठ्दै छ, तिनका चुनावी एजेन्डा के छन्, कसले चुनाव जित्छ जस्ता विषयमा उनलाई चासो नै छैन । आफ्नै खेतबारीमा काम गरेर जीविकोपार्जन कसरी गर्ने भन्नेमै उनी चिन्तित छिन् । भन्छिन्, ‘यी नेताहरू चुनाव नजितुन्जेल के–के आश्वासन देखाउँछन्, जितेपछि केही गर्ने होइनन् ।’
साँखुकै अर्की स्थानीय शारदा गोर्खाली डंगोल आफूले उत्पादन गरेको आलुले भाउ नपाएकामा चिन्तित छिन् । ‘किलोको १५–२० रुपैयाँमा आलु बेच्नुपरेको छ,’ खेतमा आलु खन्दै गर्दा भेटिएकी उनले भनिन्, ‘उत्पादनको लागत पनि उठ्दैन ।’ कृषि उत्पादनले भाउ नपाएकोमा चिन्तित उनलाई पनि स्थानीय निर्वाचनप्रति लगाव छैन । हुन पनि कृषि बिउबीजन, उत्पादन, बजारभाउजस्ता उनका आधारभूत चासो र चिन्तामा नगरपालिकाको साथ छैन ।
साली नदी क्षेत्रका मिमबहादुर तामाङ र गौरीनारायण पुतुवारको पनि गुनासो यस्तै छ । तामाङलाई खेत पुग्न तरेर जानुपर्ने खोलामा पुल बनिदेओस्, खेतीपाती गर्न आवतजावत गर्ने बाटो राम्रो भइदेओस् भन्ने छ । तर, वर्षौंदेखिको उनको यो समस्या पाँचवर्षे कार्यकालमा आफ्नै घरदैलोको स्थानीय सरकारले पनि सुनेन । यस्तै कारण पनि नेताले किसानलाई हेर्दैनन्, समस्या सुन्दैनन् भन्ने उनलाई परेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीय आफ्ना कृषिउपजले बजार नपाएको, भनेको समयमा बिउबीजन र कृषि उपकरण नपाएको गुनासो गर्छन् । भारतबाट ठूलो परिमाणमा आयात भइरहँदा काठमाडौंमै उत्पादित तरकारीले भाउ नपाएको र खेतमै सडेको विडम्बना भोगेका यहाँका स्थानीय यो समस्यामा स्थानीय सरकारले सहजीकरण गरिदेओस् भन्ने छ । तर, यो दुःखमा घरदैलोकै सरकारले सम्बोधन र सहजीकरणको प्रयास गरेको अनुभूति उनीहरूलाई छैन । हरेक चुनावमा कृषि उत्पादन र बजारसँग जोडिएका यस्ता समस्या हल हुने आश्वासन उनीहरूले पाउँछन्, तर समस्या घट्दो होइन बढ्दो छ ।
गोकर्णेश्वर नगरपालिका
जितेर गएका जनप्रतिनिधि नफर्केको गुनासो
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका ८३ वर्षीय पुण्यप्रसाद कर्माचार्यले भने, ‘भोट माग्न आउँछन्, जितेपछि फर्केर आउँदैनन् । अघिल्लोपटकको चुनावमा अस्पताल बनाउने, हामीलाई (ज्येष्ठ नागरिकका लागि) पार्क बनाउने भनेका थिए, अहिलेसम्म उस्तै छ ।’ मुलुक स्थानीय तहको निर्वाचनले छपक्कै छोपेका वेला कर्माचार्य आफ्नो पसल (घरायसी उपभोग) मा थिए । ‘चुनाव आउँछ–जान्छ, हामीलाई त्यति चासो छैन,’ पुस्तौँदेखि सुन्दरीजलमा बस्दै आएका उनी भन्छन्, ‘अहिले पनि बिरामी भइहाले वीर अस्पताल पुग्नुपर्छ, यतै कतै सरकारी अस्पताल भइदिए हुन्थ्यो, यही अपेक्षा छ ।’
सुन्दरीजल बसपार्कछेउ घर भएका वीरेन्द्रबहादुर श्रेष्ठले घरमै पसल थापेका छन् । तर, सरसामान ल्याउन वा अन्य कामले काठमाडौं जान निकै समस्या हुने गरेको उनले सुनाए । ‘बाटो त पक्की बनेका छन्, तर सार्वजनिक गाडी (१३ किलोमिटर सुन्धारा क्षेत्रसम्म) पुग्न पनि डेढ–दुई घन्टा लगाउँछ,’ उनले भने, ‘पहिले साझा यातायातले ४० मिनेटमै पुर्याउँथ्यो । अहिलेका गाडी बीचमा रोकीरोकी जान्छन्, मान्छे हुलेर । यातायातमा नगरपालिकाले लगानी गरेर छरितो बनाउनुपर्यो । चाबहिल, बौद्ध पढ्न जाने हाम्रा बालबालिकालाई पनि समस्या छ ।’
तारकेश्वरका अधिकांश सडक हिउँदमा धुलाम्मे, वर्षामा हिलाम्य
तारकेश्वर नगरपालिका–७ फुटुङस्थित हिलाम्मे सडक । तस्बिर : संजित परियार/नयाँ पत्रिका
काठमाडौंको तारकेश्वर नगरपालिकाका केही वडामा चुनावी प्रचारप्रसार निकै कम देखिएको छ । नगरपालिका भए पनि केही वडामा बाटोको समेत सहज पहुँच नभएकाले स्थानीयमा चुनावप्रतिको आकर्षण नदेखिएको हो । राणाकालमा बनेको बालाजु–फुटुङ–साङ्ला सडकखण्डमा फुटुङदेखि साङ्ला र काभे्रस्थलीदेखि साङ्लासम्मको बाटो अहिलेसम्म पिच हुन सकेको छैन । वर्षामा हिलाम्य र हिउँदमा धुलाम्मे बाटोको दुःख सम्झेर भोट दिन इच्छा नभएको बताउँछन्, तारकेश्वर–७ फुटुङका स्थानीय श्यामकुमार बस्नेत । ‘अहिले पनि पुरानै जनप्रतिनिधि पुनः उठेका छन् । पाँच मिनेट हिँड्दा सातपटकसम्म लड्ने बाटो ज्युँकात्युँ छ । पछिल्लो पाँच वर्षमा घरअगाडिको बाटोसम्म बनाउन सकेनन्, के आसमा फेरि भोट हाल्नु ?’ उनले भने । फुटुङकी सपना लोहार सुनार कुनै जनप्रतिनिधिप्रति आस नभएको बताउँछिन् । ‘काठमाडौंमा बसेको छ भन्नु मात्रै हो, हिउँदमा बम पड्काको जस्तो धुलोको मुस्लो उड्छ, वर्षामा हिलाम्य,’ उनले भनिन् ।
नागार्जुनमा पनि उस्तै समस्या
नागार्जुन नगरपालिकामा दलहरूबीच गठबन्धन छैन । कांग्रेसका मोहनबहादुर बस्नेतले पुनः मेयरमा उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा बस्नेतले ६ हजार ९ सय ६१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६ हजार सात सय ३६ मत पाएका थिए । यसपटक मेयर पदमा एमालेका नन्दनहरि गोतामे, माओवादी केन्द्रबाट सरस्वती सुनार र राप्रपाबाट धु्रव खनालले उम्मेदवारी दिएका छन् । नगरपालिकामा मात्र नभई वडास्तरमा समेत ठूला राजनीतिक दलहरूले छुट्टै उम्मेदवारी दिएका छन् । तर, अघिल्लो निर्वाचनको तुलनामा यसपटक स्थानीयमा चुनावको रौनक देखिएको छैन । जसले जिते पनि आधारभूत आवश्यकतामा समेत आमजनताको पहुँच नहुने अवस्था रहेको बताउँछन्, नागार्जुन–८ का दीपकराज भट्टराई । ‘जुन नेताले जिते पनि स्थानीय तहको सुधारमा कमै ध्यान दिन्छन् । पछिल्लो पाँच वर्षमा सुधारका काम नभएका होइनन्, तर अहिले चुनावको रौनक आमजनतामा भने छैन,’ उनले भने । निर्वाचनप्रति वितृष्णा देखिनुमा जनप्रतिनिधिप्रति सन्तुष्ट नहुनुको परिणाम भएको बताउँछन्, नार्गाजुन–७ का ईश्वरराज गिरी ।
गोदावरी नगरपालिका
जनप्रतिनिधिको योजना एकातिर, समस्या अर्कोतिर
ललितपुरको गोदावरी नगरपालिका क्षेत्रको मुख्य समस्या सडक हो । सुनाकोठी–चापागाउँ, हरिसिद्धि–ठैंव, ठैंव–बाडेगाउँ, चापागाउँ–प्याङगाउँलगायत सडक साँघुरा मात्रै छैनन् खाल्डैखाल्डा छन् । यसअघि पाँचवर्षे कार्यकालमा जनप्रतिनिधिले यी सडकलाई व्यवस्थित पार्न सकेनन् । स्थानीय सरकारले सडकसमेत व्यवस्थित नपारेपछि गोदावरीका स्थानीयवासीले लामो समयदेखि सास्ती खेप्दै आइरहेका छन् । यसपटक पनि उम्मेदवारले यहाँको सडक र सार्वजनिक यातायातका समस्यालाई घोषणापत्रमा समेटे पनि यसअघिझैँ टार्ने हुन् कि भन्ने चिन्ता स्थानीयमा छ ।
यसअघि नगरपालिकाको मूल सडक नै व्यवस्थित नपारेपछि यसपटक भने मतदान गर्दा होसियार हुने स्थानीयवासीले बताएका छन् । उनीहरूले नगरपालिकामा खानेपानी, सडक र यातायातलाई व्यवस्थित पार्ने उम्मेदवारलाई मात्रै भोट दिने योजना बनाएका छन् । ‘यहाँको मूल सडक भताभुंग छ, यातायातमा उस्तै सास्ती खेप्नुपरेको छ,’ स्थानीय नकुल महर्जनले भने, ‘यहाँको सडक, खानेपानी र यातायातलाई हालका उम्मेदवारले समेत योजनामा समेटेको देखिन्न, त्यसैले यी समस्या हल गर्न सक्ने उम्मेदवारलाई हामीले भोट दिनेछौँ ।’
यसअघिका मेयर गजेन्द्र महर्जनले सडक, खानेपानी र यातायात व्यवस्थित गर्नेबारे चासो नदिँदा स्थानीय उनीप्रति रुष्ट देखिन्छन् । पाँचवर्षे कार्यकालमा पनि ठूला समस्यालाई ज्युँकात्युँ राखेपछि स्थानीयले यसपटक मतदान गर्दा सोचेर मतदान गर्ने बताएका छन् । एक लाख १६ हजार जनसंख्या रहेको गोदावरीमा ५१ हजार मतदाता छन् । नगरपालिकामा योपटक गठबन्धनका तर्फबाट कांग्रेसका गजेन्द्र महर्जन प्रमुख र मुना अधिकारी उपप्रमुखको उम्मेदवार बनेका छन् । एमालेका तर्फबाट गम्भीरबहादुर राना प्रमुखको उम्मेदवार बनेका छन् भने रमी प्रधानांग उपप्रमुखकी उम्मेदवार छिन् ।
महालक्ष्मीमा ‘एक घर एक धारा’
ललितपुरकै महालक्ष्मी नगरपालिकामा पनि चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्रता दिएका छन् । यहाँ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिव कट्टेल, एमालेका हरिगोविन्द श्रेष्ठ र एकीकृत समाजवादीबाट नकुल थापा उम्मेदवार बनेका छन् । उनीहरू पैदलयात्राका माध्यमबाट स्थानीयको घरघरमा भोट माग्न पुगेका छन् । गठबन्धनबाट मेयर र उपमेयरका प्रत्यासी एक घर एक धारा नारालाई अघि सार्दै स्थानीयको घरघरमा पुगेका छन् । गठबन्धनले जिते महालक्ष्मीमा सबै घरमा खानेपानीको धारा पुर्याइने उनीहरूको प्रतिबद्धता छ । ‘यस क्षेत्रका मूल मुहान प्रयोग गरेर हरेक घरमा खानेपानीको व्यवस्था मिलाउँछौँ,’ गठबन्धनबाट मेयरका उम्मेदवार शिव कट्टेलले भने, ‘यसबाहेक ग्वार्कोको जाम पनि हामीले एक वर्षभित्र समाधान गर्नेछौँ ।’ एमालेबाट मेयरका उम्मेदवार श्रेष्ठले नगरपालिकाको पर्यटन र कृषिलाई आफूले प्राथमिकतामा राखेको बताए ।
बुढानीलकण्ठ–४ का वडाध्यक्षका उम्मेदवार केसीको ‘एक घर दुई रूख’ योजना
बुढानीलकण्ठ नगरपालिका–४ मा वडाध्यक्षका उम्मेदवार श्रीराम केसीले आफूले चुनाव जितेपछि वडामा ‘एक घर दुई रुख’ योजना लागू गराउने बताएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका उनले वडामै फरक योजना ल्याउने बताए ।
केसीले वडामा घर बनाउँदा अनिवार्य दुई रुख रोप्ने नियम लागू गराउँदा हरियाली कायम हुने बताए । यसअघि वडा सदस्य भएर काम गरेको अनुभवले पनि यसपटक नयाँ योजनासहित वडाको नेतृत्व सहज हुने उनको भनाइ छ । ‘मैले यसअघि पनि वडा सदस्य भएर वडामा कसरी काम गर्ने भन्नेबारे बुझेको छु, त्यसकारण यसपटक वडाध्यक्ष भएँ भने वडाको शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, कृषिलगायत क्षेत्रमा उदाहरणीय काम गर्नेछु ।’ विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनले यसअघि सडक पूर्वाधारका कार्यमा पनि पहल गर्दै आइरहेका छन् । वडाको इटालीटार सडक निर्माण उनकै पहलमा भएको हो । त्यस्तै, हाल वडामा खेलमैदान निर्माणको काम भइरहेको छ ।
वडा नम्बर ४ शिवपुरी निकुञ्जसँग जोडिएकाले पनि निकुञ्ज क्षेत्रमा असर पर्ने गतिविधि रोक्ने र त्यस क्षेत्रको पर्यटन विकासमा आफूले सक्दो पहल गर्ने उनको भनाइ छ । ‘म वडाध्यक्ष भएपछि सबैभन्दा पहिले युवालाई पर्यटनलक्षित काममा लगाउँछु,’ उनले भने, ‘त्यसबाहेक यहाँको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छु ।’
यस्ता छन् पाँचवर्षे योजना
उनले आफू निर्वाचित भएपछि वडामा छुट्टै स्वास्थ्यचौकी निर्माण गर्ने, युवालाई इलेक्ट्रोनिक तथा प्लम्बरसम्बन्धी तालिम दिने, सामुदायिक विद्यालयलाई कम्प्युटराइज गर्ने, निजी र सरकारी विद्यालयको शैक्षिक गुणस्तर मापन गरी सरकारी विद्यालयलाई सुधार्ने योजना अघि सारेका छन् । त्यस्तै, चपली घुम्ती हुँदै लिपिकोट चण्डेश्वरी जाने २६ फिटे सडक पनि निर्माण गर्ने उनले बताए । ‘शिव मन्दिर हुँदै हसनथलीको लिपिकोट तामाङ बस्ती जाने सडक व्यवस्थित पार्छु,’ उनले भने, ‘साबिक ४ वडामा पर्ने चपली सडकलाई मापदण्डअनुसार कालोपत्रे गराउन पहल गर्छु ।’
वडालाई हरियाली र सुन्दर पार्न नक्सापास गर्दा एक घर दुई रुख, एक घर एक खानेपानी धारोको व्यवस्था गर्ने उनको योजना छ । वडाको जमिन सिँचाइ गर्ने गरी योजना बनाएको उनले बताए । यसबाहेक वडाभित्र पर्ने सडकमा सडक बत्ती र सिसीक्यामेरा जडान गर्ने, फुटपाथ व्यवस्थित पार्ने, वडामा प्रहरी बिट राख्न पहल गर्ने, विष्णुमती करिडोर ट्र्याक खोल्ने, धनेश्वर मन्दिरलाई धामको रूपमा विकास गर्ने, वडा कार्यालय भवन निर्माण गर्ने, वडामा लाइबे्ररी स्थापना गर्ने, ज्येष्ठ नागरिकका लागि पार्क बनाउनेलगायत योजना उनले अघि सारेका छन् ।
भोट माग्ने नरसिंहको फरक शैली
ललितपुर महानगरपालिका–१० का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारले भोट माग्ने फरक शैली अपनाएका छन् । उनी एक्लै जनताको घरदैलोमा पुग्छन् । हात जोड्दै हालखबर सोध्छन् । आफ्ना योजना छोटकरीमा सुनाएर फर्कन्छन् । चुनाव आउन केही दिन मात्रै बाँकी छँदा उनी अधिकांश समय स्थानीयको घरदैलोमै केन्द्रित भइरहेका छन् । एकाबिहानै उनी स्थानीयको घरमा पुग्दा कतिपयले त बिहान घरको गेटसमेत खोल्न भ्याएका हुँदैनन् ।
उमेरले ८२ वर्ष पुगेका उनी ठमठमी हिँडेर स्थानीयको घरघरमा पुग्छन् । अझै एकपटक जिताउन अनुरोध गर्दै फर्कन्छन् । उनी कुपण्डोल क्षेत्रमा स्थानीयको घरघरमा पालैपालो पुगिरहेका छन् । अरू धेरै मानिसलाई बोकेर भोट माग्न जाँदा राम्रो नहुने र हल्ला मात्रै हुने भएकाले एक्लै घरदैलोमा पुग्ने गरेको उनको तर्क छ । त्यसरी जाँदा स्थानीयसँग अझ नजिक भइने उनको बुझाइ छ । ‘मेरा आफन्तहरू भोट माग्न सँगै जान्छौँ भन्छन्, तर मैले म अरूलाई लिएर भोट माग्न जान्नँ, एक्लै पुग्दा फरक पर्छ भन्छु,’ नरसिंहले भने, ‘धेरै मानिस बोकेर जाँदा स्थानीयले मनको कुरा भन्न सक्दैनन् र आफूले पनि राम्ररी कुरा गर्न पाइन्न ।’ यो वडामा हाल २८ सय मतदाता छन् । ती सबैको घरघरमा एकपटक पुगिसक्ने नरसिंहको योजना छ । ‘म चुनावको वेला मात्रै स्थानीयको घर पुग्दिनँ, मलाई चाहिने मानिसकहाँ अन्य समयमा पनि पुग्ने गरेको छु,’ उनले भने, ‘चुनावको वेलामा सम्झाउन मात्रै हिँडेको ।’
व्यञ्जनकारले एउटै वडामा उम्मेदवार बन्दा कहिल्यै हारेको रेकर्ड छैन । उनी ०२९ सालदेखि निरन्तर जितिरहेका छन् । यसपटक पनि चुनाव जिते आफूले गिनिज बुकमा नाम लेखाउने उनले सुनाए । ‘मैले जित्छु भनेर नै चुनावमा उठेको हुँ, यदि हारे पनि मलाई कुनै पछुतो हुनेछैन,’ उनले सुनाए, ‘यो पटक मैले जिते भने गिनिज बुकमा पनि रेकर्ड राख्ने सोच बनाएको छु ।’