गठबन्धन टुुटाउने ठूलो षड्यन्त्र भइरहेको छ, भरतपुरमा रेणुलाई जिताउनु हाम्रो कर्तव्य हो : शेरबहादुर देउवा

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन टुटाउने षडयन्त्र भइरहेको भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन् । चितवनको भरतपुरमा पाँचदलीय गठबन्धनले बिहीबार आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धन देशको आवश्यकता भएकाले चितवनले सोहीअनुसार निर्णय दिने विश्वास व्यक्त गरे ।  

देउवाले भने, ‘यो देशमा गठबन्धन नगरी कुनै पनि पार्टीले बहुमत ल्याउन सक्दैन । त्यसकारण गठबन्धन नभइनहुने कुरा छ । अरू कुनै ठाउँमा कुनै विरोध भएन यहाँ (भरतपुर) मात्रै किन यस्तो भयो ? यसमा गठबन्धन टुुटाउने ठूलो षड्यन्त्र छ । यो षड्यन्त्रमा फसियो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ । कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र चितवनमा हुनै सक्दैन । यो कुरामा स्पष्ट हुनुहोस् तपाईंहरू । भोलि हाम्रा साथीहरूले मौका पाइहाल्छन् नि राम्रो काम गर्नुस् न । पछि छाड्दिनुुस् सहयोग गर्नुस् भनौँला नि । उहाँलाई सहयोग गरेर हेर्नुपर्यो नि हामीले । त्यसकारण हाम्रो कर्तव्य हो हामीले उहाँलाई जिताउनुपर्ने ।’

मेयरको रूपमा रेणुले राम्रो काम गरेको भन्दै देउवाले प्रशंसा गरे । ‘रेणुको नेतृत्वमा भरतपुरमा बेरुजु शून्य बन्यो । गल्ली गल्लीमा सडक पिच भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अन्तर्राष्ट्रिय कन्फरेन्स हल बन्दै छ । भोलि संसारको नजर पर्ने महत्वपूर्ण ठाँउ बन्दै छ । यो सानो कुरा होइन । अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्छ नै । यस्तो सपना बोकेको र काम गर्ने मान्छे मेयर नभए को हुन्छ त यहाँ ?’ देउवाले भने, ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हरायो भने जनताले के भन्लान् ? उहाँले जितिसक्नुभएको छ । सबैले सहयोग गरेर जिताउनुहोस् । त्यसो भयो भने १५–२० वर्ष गठबन्धन पनि जान्छ । ’ 

अहिलेको गठबन्धनाटै आफू प्रधानमन्त्री भएको देउवाले स्मरण गरे । कांग्रेसका कार्यकर्ताले  गठबन्धनप्रति विश्वास भएरै आफूलाई अत्याधिक मतले सभापतिमा निर्वाचित गरेको पनि देउवाले बताए । गठबन्धनका उम्मेदवारलाई जिताउनु चितवन कांग्रेसका कार्यकर्ताको जिम्मेवारी भएको देउवाले बताए । कुनै पनि शंका नहुने गरी गठबन्धनका उम्मेदवारलाई जिताउने भूमिका खेल्न देउवाले आग्रह गरे ।

सुझावित समाचार