सभापति देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने, वक्ताको सूचीमा समेटिएनन् डा. शेखर कोइराला
आसन्न स्थानीय तह निर्वाचनको प्रचार–प्रसारका लागि कांग्रेसले देशका १० स्थानमा चुनावी सभा गर्ने भएको छ । सातै प्रदेशमा हुने चुनावी सभालाई पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन परिचालन समितिको निर्णयअनुसार २१ देखि २७ वैशाखसम्म चुनावी सभा हु“दै छन् । सभाहरूलाई सभापति देउवा, पदाधिकारी र केन्द्रीय नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको मुख्यसचिव पौडेलले बताए ।
उनका अनुसार काठमाडौंमा भने गठबन्धनको संयुक्त चुनावी सभा हुनेछ । ‘काठमाडौंमा २३ वैशाखमा हुने गठबन्धनको संयुक्त चुनावी सभाबाहेकका अरू चुनावी सभा कांग्रेस मात्रको हुनेछ,’ उनले भने, ‘यसअघि सात प्रदेशका सात स्थानमा मात्रै सभाको कार्यक्रम तय भएको थियो । आवश्यकताका आधारमा तीन स्थानमा थप गरी १० स्थानमा सभा आयोजना हुनेछन् ।’
कांग्रेसका अनुसार सभाहरूको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सबै चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसबाहेक सम्बन्धित भूगोलका पदाधिकारी र केन्द्रीय नेताले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । तर, इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाको नाम भने सम्बोधन गर्ने नेताको सूचीमा छैन ।
उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले १७ वैशाखमा सात प्रदेशका सात स्थानमा सभा आयोजन गर्ने निर्णय गरेको थियो । यसअघि प्रदेश नम्बर १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमी प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा सभा आयोजना गर्ने कार्यक्रम तय भएको थियो । तर, मंगलबार बागमती प्रदेशमा चितवनको भरतपुर, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशमा तनहुँको दमौलीमा गरी तीन स्थानमा सभाको कार्यक्रम थप गरिएको छ ।
निर्वाचन परिचालन समितिको सचिवालय गठन
कांग्रेसले निर्वाचन तयारीलाई तीव्रता दिन उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ । समिति संयोजक खड्काले ६ सदस्यीय स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन गरेका हुन् । सचिवालय केन्द्रीय सदस्य नानु बास्तोलाको संयोजकत्वमा रहने गरी डा. सुरेश आचार्य, डा. प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्लेलाई सदस्यको रूपमा राखिएको छ ।
सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिले गरेका निर्णयको कार्यान्वयनको अवस्था, सांगठनिक संरचना र निर्वाचन अभियानबारे भइरहेका कामको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक काम गर्ने मुख्यसचिव पौडेलले जानकारी दिए ।