चितवन र कास्कीका कांग्रेस नेतालाई देउवाले भने– गठबन्धनको खाँचो छ, सहयोग गर्नुस्

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की र चितवनका कांग्रेस नेतासँग छलफल गर्दै अहिले तालमेलको आवश्यकता रहेकाले जसले पाए पनि सहयोग गरेर जिताउन निर्देशन दिएका छन् । कास्की र चितवनका नेताहरूले भने सकेसम्म महानगर आफैँसँग राख्न सुझाव दिएका थिए । तर, उनीहरूले केन्द्रबाट निर्णय भए कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । 

चितवनका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिका माओवादीलाई दिनुपर्ने अवस्था आएको र सहयोग गर्न भनेका थिए । तर, कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले केन्द्रबाट निर्णय भए त्यसलाई लागू गर्ने, तर परिणाम प्रभावित हुन सक्ने बताएका थिए । 

‘सभापतिले काठमाडौं, भरतपुर र विराटनगरमध्ये एक ठाउँको प्रमुखको माग माओवादीले राखेको छ । यी तीनमध्ये एउटा महानगरको मेयर माओवादीलाई दिनुपर्छ । यदि भरतपुर दिनुपर्ने परिस्थिति भयो भने तपाईंले मलाई सहयोग गर्नुपर्छ भनेर प्रस्ताव गर्नुभयो,’ खनालले भने, ‘मैले महानगर प्रमुखमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णयबाट ब्याक हुन सक्ने अवस्था छैन भनेँ । तर, केन्द्रले गरेको निर्णय कांग्रेस चितवनले पालना गर्छ । सोचेअनुसारको निर्णय आयो भने सहज रूपमा पार लगाउन सक्छौँ । फरक निर्णय आए निर्वाचन परिणाम प्रभावित पार्न सक्छ, त्यसको पूर्ण जिम्मेवार चितवन कांग्रेस हुन सक्दैन भनेको छु ।’ 

खनालका अनुसार जवाफमा देउवाले भनेका थिए, ‘यदि माओवादीलाई भरतपुर परेको खण्डमा कांग्रेस चितवनले सहयोग गर्नुपर्छ । जसरी कांग्रेसको उम्मेदवार हुँदा तपाईंहरूले सहयोग गर्नुहुन्थ्यो त्यसैगरी माओवादी केन्द्रको उम्मेदवारलाई पनि सहयोग गर्नुपर्ने हुन्छ ।’ भेटमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ रहेका थिए । 

त्यस्तै, कास्कीबाट छलफलका लागि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा आएका थिए । सभापति शर्माका अनुसार देउवाले पोखराको वस्तुस्थितिबारे जानकारी लिएका थिए । जिल्ला नेताहरूले पोखरा नछाड्न सुझावसमेत दिएका थिए । ‘तपाईंहरूका कुरा गठबन्धन बैठकमा राख्छु । उहाँहरूको अवस्था पनि बताउँछु । हाम्रो अवस्था यस्तो छ र कांग्रेसको अगुवाइमा जानुपर्छ भनेर राख्छु । छलफलबाट यसको टुंगो लाग्नेछ,’ देउवाको भनाइ थियो ।

See More On

सुझावित समाचार