माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनभित्र तालमेल गर्दा उठेका असन्तुष्टिले तात्विक फरक नपार्ने बताएका छन् । गठबन्धन गर्दा केही ठाउँमा विरोधका स्वर उठ्नु स्वाभाविक भएको उनको भनाइ छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले टिकट नपाउनेहरू विगतमा पनि असन्तुुष्ट हुने गरेको टिप्पणी गरे । ‘एउटै पार्टीभित्र पनि कसैले टिकट पाउने, कसैले नपाउने हुन्छ, नपाउनेमध्ये कतिपय असन्तुष्ट हुने, बागी उठ्ने गरेको अनुभव विगतमा पनि छ,’ उनले भने, ‘पाँचदलीय गठबन्धनभित्र तालमेल गर्दा केही–केही असन्तुष्टि, केही–केही विरोधका स्वर सुनिनु लोकतान्त्रिक परिपाटीभित्र स्वाभाविक हो । त्यसले तात्विक फरक पार्दैन ।’
सत्तासाझेदार दलबीच महानगरको बाँडफाँटका क्रममा भरतपुर महानगरपालिकामा आफूहरूको अडान नरहेको पनि प्रचण्डले बताए । माओवादीलाई काठमाडौं वा विराटनगर दिए पनि फरक नपर्ने उनको भनाइ थियो । ‘भरतपुर नभई भएन, रेनु नभई भएन भन्ने हाम्रो अडान हैन । ६ वटा महानगरपालिका छन्, एउटा माओवादीलाई पक्कै पर्ने होला । गठबन्धनले काठमाडौं दिने भने पनि ठिकै छ, विराटनगर दिने भने पनि ठिकै छ । भरतपुर हुँदैन भने पनि ठिकै छ,’ उनले भने, ‘भरतपुर नै दिन उचित छ भनेर कांग्रेसका धेरैलाई लागेको छ, केही–केहीलाई नलागेको मात्र होला ।’
प्रचण्डले विपक्षी दलहरूबीच बनेकोे गठबन्धनको आलोचना गरे । एमालेलाई लक्षित गर्दै उनले मुलुकमा परिवर्तनकामी र परिवर्तनविरोधीहरूको गठबन्धन बनेको टिप्पणी गरे । उनले विपक्षी गठबन्धन ‘होली वाइन’ र राजावादीहरू मिलेर बनेको आरोप लगाए । विगतमा परिवर्तनविरोधी शक्तिहरूको हातमा देशको डाडुपन्यु पुगेकाले देश अघि बढ्न नसकेको प्रचण्डको भनाइ थियो ।