पूर्वराजपरिवारले प्रयोग गर्ने पोखराको रत्नमन्दिर र हिमागृह ३० वैशाखदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । पोखरामा आयोजित ‘फेवा नव वर्ष महोत्सव २०७९’ उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यस्तो बताएका हुन् । यसैगरी, आलेले तीनदेखि चार महिनामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । रत्नमन्दिर र हिमागृह ट्रस्टअन्तर्गत रहेकाले प्रधानमन्त्रीसँग छलफल गरी ३० वैशाखभित्र खुला गर्ने प्रतिबद्धता आलेले गरेका हुन् ।
चार महिनामा पोखरा विमानस्थल सञ्चालनमा आउने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चार महिनाभित्र सञ्चालनमा आउने मन्त्री आलेले बताएका छन् । रिठेपानी डाँडा कटानको काम केही दिनमा सक्न फास्ट ट्र्याकमा काम भइरहेको बताउँदै उनले पोखरा महानगरपालिकालाई छिटोभन्दा छिटो ल्यान्डफिल साइटको निकास दिन आग्रह गरेका छन् ।
रत्नमन्दिर र हिमागृह
पूर्वराजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गर्दै आएको रत्नमन्दिरलाई संग्रहालय बनाएर खुला गर्नुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् । रत्नमन्दिर स्व. राजा वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर २०६३ सालको राजनीतिक परिवर्तनसँगै नेपाल सरकारको स्वामित्वमा आएको थियो । विसं २०१४ सालमा राजा महेन्द्रले कान्छी श्रीमती रत्नको नामबाट पोखरामा बस्न मिल्ने गरी यो दरबारको निर्माण गर्न लगाएका थिए । रत्नमन्दिरलाई हिउँदे दरबारको रूपमा समेत नामाकरण गरिएको थियो । महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै वीरेन्द्रको नाममा आएको थियो । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर २०६७ सालदेखि नेपाल ट्रस्टको स्वामित्वमा छ ।
राजपरिवारको निजी जीवन हेर्ने थलोका रूपमा विकास गरी संग्रहालय बनाउन कुरा उठाएको दशक हुन लाग्दासमेत पूरा नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको गुनासो छ । यसलाई लेक म्युजियम र जैविक विविधता अध्ययन गर्ने स्थल बनाउँदै अन्य पर्यटकीय गतिविधि बढाउन सकिने भनाइसमेत उनको छ । काठमाडौंमा नारायणहिटी दरबारलाई उहिल्यै संग्रहालय बनाएर जनताका लागि खुला गरिसकिएको भए पनि पोखरामा भने ढिलाइ भएको हो । यसअघि वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसँग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर खोल्ने योजना पनि अघि सारेको थियो ।
हिमागृह
रत्नमन्दिरभन्दा केही पूर्वमा छ, हिमागृह । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमागृह बनेको थियो । ९ पुस ०३८ मा अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिइएको थियो । १० कात्तिक ०४६ मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो । फेवाताल किनारमै अवस्थित हिमागृहको क्षेत्रफल १० रोपनी चार आना छ ।
यस्तो छ रत्नमन्दिर
रत्नमन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिएका छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ । बंगला शैलीको रत्नमन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन् । राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचर अहिले पनि त्यहीँ छन् । उतिवेला पोखरामा होटेल थिएनन् ।
दरबारले विदेशी पाहुनासमेत यहीँ राख्थ्यो । तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे । नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि यहीँ हुन्थ्यो । बेलायती महारानी, चीनका राष्ट्रपतिलगायत बसेको रत्नमन्दिरमा बस्ने नेपालका एक मात्र प्रधानमन्त्रीचाहिँ बिपी कोइराला थिए । उनी राजा महेन्द्रको पालामा विशिष्ट पाहुना बनेर यहाँ आएका थिए । यसबारे बिपीले आफ्नो आत्मवृत्तान्तमा पनि लेखेका छन् ।
राजा महेन्द्र भ्रमणका क्रममा पोखरा आएका वेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्नमन्दिर बनाएका थिए । स्थानीयसँग जग्गा किनेर विसं ०१३ मा निर्माण सुरु भएर ०१५ मा रत्नमन्दिरको निर्माण सम्पन भएको हो । एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यहाँ हेलिप्याडसमेत छ ।