दसैँअघि अर्थात् चालू आर्थिक वर्ष ०८३/८४ को असोज महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८० अर्ब तीन करोड रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त कर्जा निक्षेपसम्बन्धी तथ्यांकले असोजमा सोबराबरको कर्जा प्रवाह भएको देखाएको हो ।
भदौ मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोज मसान्तसम्म आउँदा त्यो बढेर ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । योअनुसार असोजमा मात्रै कर्जा प्रवाह ८० अर्ब तीन करोड रुपैयाँले बढेको हो । तथ्यांकअनुसार असोज १–२ मा तीन अर्ब ६९ करोड, असोज ३–९ मा १३ अर्ब २४ करोड, असोज १०–१६ मा २२ अर्ब १२ करोड, असोज १७–२३ मा २० अर्ब २६ करोड र असोज २४–३१ मा २० अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । चालू आवको साउनमा एक अर्ब ७१ करोड रुपैयाँले घटेको कर्जा प्रवाह भदौमा भने ६२ अर्ब ६८ करोड रुपैयाँले बढेको थियो । असोजमा भने त्यो थप बढेको छ ।
तीन महिनामा एक खर्ब ४१ अर्बले बढ्यो कर्जा
चालू आवको तीन महिनामा भने वाणिज्य बैंकको कर्जा प्रवाह एक खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ । गत असारसम्म उनीहरूको कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो ।
गत आवको पहिलो तीन महिनामा भने वाणिज्य बैंकको कर्जा प्रवाह ७३ अर्ब सात करोड रुपैयाँले बढेको थियो । असार ०८२ मा वाणिज्य बैंकको कर्जा प्रवाह ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ थियो । गत आवको साउनमा १० अर्ब ८६ करोडले घटेको कर्जा प्रवाह भदौमा ४३ अर्ब २६ करोड र असोजमा ४० अर्ब ६८ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । ०८२ को असोज मसान्तसम्म कुल कर्जा प्रवाह ५० खर्ब ४७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । समग्रमा गत आवको तीन महिनाको तुलनामा चालू आवको समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा प्रवाह उच्च नै देखिन्छ । गत आवभर वाणिज्य बैंकको कर्जा प्रवाह तीन खर्ब १५ अर्ब १३ करोड रुपैयाँले बढेको थियो ।
दसैँका कारण पनि असोजमा कर्जाको माग उच्च नै हुने बैंकरहरू बताउँछन् । दसैँ–तिहारलक्षित सामग्रीको उत्पादन बढाउन तथा आयात गर्न व्यवसायीहरूले कर्जाको माग बढाएको उनीहरूको भनाइ छ । पहिलो त्रैमासको अन्तिम महिना भएका कारण निर्देशित कर्जाको सीमा पुर्याउन, निष्क्रिय कर्जा अनुपात सन्तुलनमा राख्न पनि बैंकहरूले कर्जा विस्तार बढाएको हुन सक्ने जानकारवालाहरू बताउँछन् ।
एक महिनामै एक खर्ब ७७ अर्बले बढ्यो निक्षेप
असोजमा वाणिज्य बैंकहरूको निक्षेप एक खर्ब ७७ अर्ब ९२ करोड रुपैयाँले बढेको छ । गत भदौ मसान्तसम्म वाणिज्य बैंकमा ७५ खर्ब ७३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप थियो । असोज मसान्तसम्म आउँदा त्यो बढेर ७७ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार असोज १–२ मा १० अर्ब २५ करोड, असोज ३–९ मा ११ अर्ब ३६ करोड, असोज १० –१६ मा ५० अर्ब ९० करोड, असोज १७–२३ मा ६६ अर्ब ४४ करोड र असोज २४–३१ मा ३८ अर्ब ९७ करोड रुपैयाँले निक्षेप बढेको छ ।
तीन महिनामा दुई खर्ब ५३ अर्बले बढ्यो निक्षेप
चालू आवको तीन महिनामा मात्रै दुई खर्ब ५३ अर्ब सात करोड रुपैयाँले निक्षेप बढेको छ । गत असारमा वाणिज्य बैंकमा ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप थियो । त्यसमा साउनमा २१ अर्ब ६३ करोडले घटेको निक्षेप भदौमा भने ९६ अर्ब ७८ करोड रुपैयाँले बढेको थियो । असोजमा त्यो थप बढेर साढे ७७ खर्बमाथि पुगेको छ ।
गत आवको पहिलो तीन महिनामा भने दुई खर्ब २० अर्ब ७७ करोड रुपैयाँले निक्षेप बढेको थियो । गत आवको असोजमा मात्रै एक खर्ब ७९ अर्ब पाँच करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । गत आवको साउनमा भने ५२ अर्ब २२ करोडले घटेको निक्षेप भदौमा ९३ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो । गत आवभर नौ खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँले निक्षेप बढेको थियो ।