केपी ओलीको दाबी–सरकार विप्लवलाई देखाएर चुनाव सार्न खोज्दै छ

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन् ।

एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको कार्यक्रममा ओलीले चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे । उनले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालको गल्ती दोहोर्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिएका छन् ।

स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सह्य नहुने बताए । ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि आग्रह गरे ।

ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी पनि गरे । उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई कांग्रेसको पुच्छरको संज्ञा दिए ।

ओलीले ४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको आरोप पनि लगाए । उनले सरकार भ्रष्टाचार र कमिसनमा लिप्त भएको पनि पटकपटक दोहोर्याए ।

सुझावित समाचार