गुल्मीका स्थानीय तहमा वडासचिव अभाव : अहेव, प्राविधिक र करार कर्मचारीबाट पञ्जीकरणको काम

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

गुल्मीका स्थानीय तहमा वडासचिवको चरम अभाव देखिएको छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा वडासचिवले गर्नुपर्ने पञ्जीकरणको काम अहेव, प्राविधिक र करार कर्मचारीबाट भइरहेको छ । 

दरबन्दीअनुसारका कर्मचारी नहुँदा वडासचिवले गर्नुपर्ने पञ्जीकरणको काम अहेव, प्राविधिक र करार कर्मचारीबाट भइरहेको छ ।  एकातिर वडामा सचिव नहुँदा प्राविधिकले पञ्जीकरणको काम पनि गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर एक प्राविधिकले चार वडाको काम गर्नुपर्ने अवस्था छ । 

गुल्मीको चन्द्रकोट गाउँपालिकामा आठ वडा छन् । तर, दुई वडामा मात्र सचिव छन् । वडा नम्बर २ का सचिव दुर्गाप्रसाद शर्माले वडा नम्बर १ को पनि काम गर्दै आएका छन् । वडा नम्बर ८ मा लक्ष्मी अर्याल कार्यरत छिन् । वडा नम्बर ३, ४, ५, ६ र ७ मा वडासचिव छैनन् । 

गाउँपालिकाकी असिस्टेन्ट सबइन्जिनियर राधा खत्रीले वडा नम्बर ३ को सचिवको जिम्मेवारी निभाउँदै आएकी छिन् । यस्तै, दीपक गौतमले प्रशासन, जिन्सी शाखा र वडा नम्बर ४ को वडासचिवको काम गरिरहेका चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । असिस्टेन्ट सबइन्जिनियर लीलबहादुर कालाले पनि वडा ५ को सचिव र ६ को प्राविधिकको काम गरिरहेका छन् । हरेवा स्वास्थ्य चौकीका सिनियर अहेव (छैटौँ) ललित थापाले पनि वडा नम्बर ६ को वडासचिवको काम गरिरहेका छन् । यमकुमारी रानाले पालिकाको महिला विकास र प्रशासनसहित वडा नम्बर ७ को वडासचिवको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए ।

 प्राविधिकलाई वडासचिवको भार
चन्द्रकोट गाउँपालिकामा ११ प्राविधिकको दरबन्दी छ । तीमध्ये पाँचजना स्थायी प्राविधिक छन् । गाउँपालिकाले इन्जिनियरसहितका प्राविधिक करारमा भर्ना गरेर काम गरिरहेको छ । 
एकातिर वडामा सचिव नहुँदा प्राविधिकले पञ्जीकरणको काम पनि गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर एक प्राविधिकले चार वडाको काम गर्नुपर्ने अवस्था छ । 

गाउँपालिकामा अहिलेसम्म साढे चार सय योजना सम्झौता भएका छन् । तीनवटा ठेक्कासम्बन्धी छन् । तर, प्राविधिकले आफ्नो कामसँगै पञ्जीकरणको पनि बोझ बोकिरहेका छन् । विवेक भण्डारी गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर हुन् । उनले अहिले गाउँपालिकाका १, २, ७ र ८ वडामा प्राविधिकको काम गरिरहेका छन् । चारवटै वडामा काम गर्नुपर्ने भएकाले सेवाग्राहीलाई छिटोछरितो सेवा दिन नसक्दा छिटो काम सम्पन्न गर्न दबाब आउने गरेको उनले प्रतिक्रिया दिए । 

करार कर्मचारीको भरमा वडा प्रशासन
मालिका गाउँपालिकाका अधिकांश वडामा अस्थायी कर्मचारीले वडासचिवको काम गरिरहेका छन् । गाउँपालिकाको वडा नम्बर ६ र ७ मा मात्र सचिव छन् । वडा नम्बर ४ मा स्थायी वडा–सहायकले सचिवको काम गरिरहेका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । उनका अनुसार मालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा करार कर्मचारीले वडासचिवको रूपमा पञ्जीकरणको काम गरिरहेका छन् ।

नागरिकलाई पञ्जीकरणको सुविधाबाट वञ्चित गर्न नहुने भएपछि कार्यपालिकाको निर्णयअनुसार करार कर्मचारीलाई पञ्जीकरणको काम दिएको गिरीको भनाइ छ । धुर्कोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमलाल खनालका अनुसार २, ३ र ६ वडा कार्यालयमा लामो समयदेखि करारका कर्मचारीले पञ्जीकरणको काम गरिरहेका छन् । सत्यवती गाउँपालिकाको चार वडामा सचिव छैनन् । 

वडा नम्बर ५, ६, ७ र ८ बाहेकका वडामा करार कर्मचारीमार्फत वडासचिवको काम चलाइएको प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र रेग्मीले बताए । चन्द्रकोट गाउँपालिकाका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार घरपायक वा भूगोलकेन्द्रित कर्मचारी नहुँदा जति सुविधा दिए पनि सरुवा हुने गरेका छन् । २५ देखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता, बाहिरबाट आउनेको हकमा कोठाभाडा, खाजालगायत सुविधा दिए पनि कर्मचारीलाई आकर्षित गर्न नसकिएको उनले बताए ।

सुझावित समाचार