रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न राजदूतहरूलाई अर्थमन्त्रीको निर्देशन

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नेपाली राजदूतहरूलाई निर्देशन दिएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउने पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका हुन् ।

दुई दर्जनभन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार भर्चुअल बैठकमार्फत अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिवेला विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईंहरूले विशेष भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभिड–१९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी धेरैभन्दा धेरै पर्यटक नेपाल आउने वातावरण सिर्जना गर्नुस् ।’

चैतमा ९१ अर्ब रेमिट्यान्स भित्रिएको जानकारी दिँदै यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए । ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौँ । रेमिट गर्नेहरूलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्,’ उनले भने । आगामी आवको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो ।

त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरू आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सिर्जना गर्नुपर्ने पनि बताए । ‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्न सक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदै छौँ,’ उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौँ ।’

त्यस्तै, कुन देशमा कस्तो वस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौँ । यसका लागि कुन देशमा के वस्तुको माग छ भन्ने कुरा तपाईंहरूले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको वस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ ।’  अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए । कार्यक्रममा कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याइन् ।

सुझावित समाचार