जुम्ला सदरमुकामदेखि निकै टाढा पर्ने कनकासुन्दरी गाउँपालिका– २ को मालिकाबोता दुर्गम ठाउँ हो। पछिल्लो समय यो गाउँ हुँदै नाग्म गमगढी सडक पुगे पनि शिक्षा, स्वास्थ्य र विकासका अन्य आधारमा जिल्लाका अन्य ठाउँभन्दा पछि परेको छ।
यहाँका धेरैजसो महिला अशिक्षित नै छन्। सधैँजसो मेलापात, चुलोचौको र घरधन्दामै दैनिकी बिताउने महिला ४५ दिने हाते होजियारी तालिम पाएपछि गाउँमै स्विटर, मोजा, टोपी र मफलर बुन्ने भएका छन्। २ नम्बर वडा र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको समन्वयमा गाउँमै ४५ दिने हाते हाेजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाले स्विटर, मोजा, टोपी र मफलर बुन्ने भएका छन्।
तालिममा सहभागी प्रमिला विष्टले भनिन्, ‘हामीले सुइडा पनि देखेका थिएनौँ। पहिलो दिनमा त निकै अलमलिएका थियौँ। सीप सिक्ने इच्छा–चाहनाका साथ दैनिक प्रयास गरेपछि अब स्विटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौँ,’ उनले भनिन्, ‘अब आफूले सिकेर अरूलाई पनि सिकाउने भएका छौँ।’ घरमा बालबच्चालाई स्विटर, मोजा, टोपी र मफलर बुनेर जाडाेमा न्यानो गर्नुका साथै धेरै बुनेर बिक्री–वितरण गरी आयआर्जन पनि गर्नसक्ने भएको उनले बताइन्।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लासँगको समन्वयमा ४५ दिने हातेहाजियारी तालिम सञ्चालन गरिएको गाउँपालिकाको वडा नं २ का अध्यक्ष शेरबहादुर रावतले बताए। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले दुर्गमका महिलालाई सीप सिकाएर जीविकोपार्जनमा सुधार ल्याउन ४५ दिने हाते हाेजियारी तालिम सञ्चालन गरिएको बताए।
‘हामीले यस्ता सीप सिकाउने कार्यक्रमका लागि सुगमभन्दा पनि दुर्गम नै रोज्ने गरेका छौँ, ता कि दुर्गमका महिलालाई पनि अगाडि ल्याउन सकियोस्,’ देवकोटाले भने। उनका अनुसार महिलाहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ। सोही प्रमाणपत्रका आधारमा तालिम लिएका महिलाहरूले अरूलाई पनि सिकाउने अवसर पाउनेछन्। भोलि उद्योग दर्ता गर्न र सञ्चालन गर्न पनि सहज हुने उनले बताए।