एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सत्तारुढ दलहरूको चुनावी गठबन्धनलाई ‘स्यालको मोर्चाबन्दी’को संज्ञा दिएका छन् । स्यालको मोर्चाबन्दीले हात्तीको सिकार गर्न नसक्ने उनले बताए । एमाले बाग्लुङले शनिबार बाग्लुङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओलीले एमाले हात्ती भएका कारण स्यालहरूले जति जे गर्न खोजे पनि सिकार गर्न नसक्ने बताए । उनले कम्युनिस्टलाई ध्वस्त पार्न लागेका प्रचण्ड–माधव नेपालहरू कम्युनिस्ट नभएको जिकिर गरे ।
‘
‘माधव–झलनाथ पहिलेदेखि कम्युनिस्ट आन्दोलनमा थिए, पछि प्रचण्ड मिसिए’ ओलीले भने,‘ यिनीहरू कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न जन्मिएका हुन् । हामी हल्लाउन दिँदैनौँ र उनीहरूले सक्न पनि सक्दैनन् ।’
उनले देशमा जनयुद्धको नाममा एकातिर साम्प्रदायी र अर्कोतिर विभिन्न भेगका नारा लगाएर देशलाई विभेदको रेखा कोरेको आरोप लगाए । ओलीले मधेसी दलहरू मधेसका मुद्दामा भन्दा पनि मुद्रामा तल्लीन भएको आरोप लगाए । ‘मधेसी नेताहरूले जनताको मुद्दाभन्दा पनि मुद्रालाई बढी ध्यान दिए,’ ओलीले भने, ‘हामी जनताको मुद्दाका पक्षमा छौँ, नेकपा एमाले अब मधेसमा पनि अगाडि बढेको छ ।’
ओलीले अहिलेको नौ महिनाको सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप पनि लगाए ।