पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको विषयवस्तु बुझ्ने क्षमतामाथि प्रश्न उठाएका छन् । चोभारमा सुक्खा बन्दरगाह बनाउने विषय उठाएर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाको क्षमतामाथि प्रश्न उठाएका हुन् ।
ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षपछि विकास अभियानलाई बुझ्न थालेको भन्दै धन्यवादसहित व्यंग्य गरेका छन् । पार्टीनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी संगठनको अधिवेशनलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई व्यंग्य गरेका हुन् ।
‘चोभारमा सुक्खा बन्दरगाह बनाउन लाग्दा कांग्रेसले डिस्टर्ब गरेर हैरान पार्दापार्दा बडो मुस्किलले शिलान्यास गर्नुपर्यो । प्रधानमन्त्री देउवाजीलाई धन्यवाद छ, हिजो उद्घाटन गर्नुभएछ,’ ओलीले भने, ‘उहाँले यसले राम्रै गर्छ भनेर हिजोचाहिँ बोल्नुभयो है । तीन वर्षपछि आएर थाहा पाउनुभएछ ।’ प्रधानमन्त्री देउवाले मंगलबार बन्दरगाहको उद्घाटन गरेका थिए ।
यति मात्र होइन, ओलीले पाँचदलीय गठबन्धनका नेताप्रति पनि गैरराजनीतिक टिप्पणी गरेका छन् । ‘मान्छेहरू चिडियाखाना गएछन् । त्यहाँ जनावरको केही सरसल्लाह हुँदो हो । सबै जनावर बेस्सरी हाँसेछन्, सबै जनावर पेट मिचिमिची हाँसिरहँदा एउटा गधा चुप लागेर बसेको रहेछ । तिनै मान्छे भोलिपल्ट गएछन्, अरू जनावर चुप लागेका छन्, गधा एक्लै मरीमरी हाँस्या छ,’ ओलीले पाँचदलीय गठबन्धनलाई व्यंग्य गर्दै भने, ‘किन गधा एक्लै हाँस्दै छ भनेको ? जनावरहरूले हिजै कुरा बुझे हाँसिहाले, गधाले बल्ल कुरा बुझेर यति बेर हाँस्दै छ । हाम्रा मित्रहरू शिलान्यास गर्ने वेलामा विरोध गर्छन्, उद्घाटन गर्ने वेलामा कुरा बुझ्छन् र बत्ती बाल्छन् । उनीहरूले कुरै ढिलो बुझ्छन् ।’
राज्यले लगानी गरेको बाँसबारी छालाजुत्ता कारखाना, भक्तपुरको इँटा टायल कारखानालगायतका उद्योग बन्द गर्नेले एमालेमाथि उद्योग खोल्न नसकेको आरोप लगाउने गरेको ओलीले बताए । ‘बाँसबारी छालाजुत्ता उद्योग खानेले हामीलाई सोध्छन्, खै उद्योग स्थापना गरेको ? जसले हरिसिद्दी इँटा उद्योग खाए, बाँसबारी उद्योग खाए, तिनीहरूले हामीलाई सोध्दै छन् । हिमाल सिमेन्ट खानेहरूले हामीलाई सोध्दै छन्,’ ओलीले भने ।
उनले विकासलाई सही ढंगले बुझ्न नसक्नेले भ्युटावर निर्माणलाई आलोचना गरेको टिप्पणी गरे । ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिने बताए ।
उनले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताए । ‘सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ, त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ,’ ओलीले भने । ओलीले गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको ओलीले बताए ।