सर्वोच्च अदालतले नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्धको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकेको छ। सर्वोच्चले आइतबार न्यायाधीश रेग्मीले हेर्न नमिल्नेमा राखेको रिटमाथि आज पनि उनकै इजलासमा सुनुवाइ तोकेको हो।
न्यायाधीशले मुद्दासँग आफ्नो स्वार्थ बाझिने वा त्यससँग सम्बन्धित मुद्दामा आदेश वा फैसला गरेको र आफ्नो इजलासमा सुनुवाइ हुँदा प्रभावित हुने अवस्थामा आफूबाहेकको इजलासमा सुनुवाइका लागि मुद्दा हेर्न नमिल्नेमा राख्ने गर्दछन्।
एआइजीमा बढुवाविरुद्ध डिआइजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। यसविरुद्ध कार्कीले चैत १७ मा तथा अर्याल र कार्कीले चैत २० मा सर्वोच्चमा रिट दर्ता गराएका थिए।
गत चैत १७ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा हुनेमा धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुक रहेका छन्। सोही विषयलाई लिएर डिआइजी कार्कीसहित तीनजनाले सर्वोच्चमा रिट हालेका थिए। यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो। आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको थियो।