माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जितेका स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गरेका छन् । रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको मोडेल नै स्थापित भएको संसदीय समितिले देखाएको प्रचण्डको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैँ समस्या आउने गरेको बताए । प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन रिपोर्टबारे बोलेका हुन् ।
‘अस्ति मात्रै एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँचवटा श्रेष्ठ काम भएकामध्ये तीनवटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भयो । अरू त्यत्रा सयौँ छन्, त्यहाँचाहिँ राम्रो काम भएन भन्ने रिपोर्ट आयो,’ प्रचण्डको भनाइ थियो, ‘भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा नयाँ मोडेल छ भन्ने रिपोर्ट आयो । सबैतिर त्यस्तो भएन । तर, प्रदेश र संघमा माओवादीको नेतृत्व नहुँदा एउटा अन्तरविरोध जहिले पनि भएको छ ।’
प्रचण्डले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने, तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा मुलुकमा फेरि पनि परिवर्तन खतरामा पर्ने अवस्था आएको बताए ।