सामान्यतः विगतका प्रतिनिधि नदोहोर्याउने
पाँचदलीय गठबन्धनमा रहेर निर्वाचन लड्ने निर्णय गरिसकेको माओवादी केन्द्रले आसन्न स्थानीय निर्वाचनमा सकेसम्म विगतका जनप्रतिनिधि ‘सकभर’ नदोहोर्याउने गरी उम्मेदवार चयन गर्ने भएको छ । विशिष्ट परिस्थितिमा बाहेक सामान्यतः विगतका प्रतिनिधि नदोहोर्याउने गरी उम्मेदवार छनोट र सिफारिस गर्न माओवादीले मातहत पार्टी कमिटीलाई परिपत्र जारी गरेको छ ।
उम्मेदवार छनोट र सिफारिस गर्दा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने’, ‘देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान् रहेको हुनुपर्ने’, ‘स्वच्छ छवि भएको हुनुपर्ने’, ‘विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनोटमा ध्यान दिने’, ‘पार्टी अनुशासनप्रति निष्ठावान् हुनुपर्ने’ र समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने’ मापदण्ड बनाइएको छ । पार्टी अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीपंक्तिलाई पठाएको परिपत्रमा मापदण्डअनुसार उम्मेदवार चयन गर्न निर्देश छ । निर्वाचनमा हालका प्रतिनिधि पनि उम्मेदवारका आकांक्षी हुन सक्ने देखिएपछि प्रचण्डले सकेसम्म प्रतिनिधिलाई नदोहोर्याउने नीति बनाएको एक नेताले बताए ।
माओवादीमा उम्मेदवार छनोट गर्दा गाउँ, नगर वडाध्यक्ष र सदस्यको उम्मेदवारी पालिका कमिटीले टुंग्याउनेछ । नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी प्रदेश कमिटीले टुंग्याउनेछ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी केन्द्रीय कमिटीले टुंग्याउनेछ । यसअघि माओवादीको २०–२३ फागुनमा बसेको केन्द्रीय कमिटीले चुनावलाई लक्षित गर्दै तल्ला कमिटीहरूलाई परिपत्र पठाएको थियो ।
०७४ को स्थानीय निर्वाचनमा माओवादीले प्रमुख ३४, उपप्रमुख ४३, अध्यक्ष ७२, उपाध्यक्ष ६८, वडाध्यक्ष एक हजार एक सय तीन, सदस्य दुई हजार ५६, महिला सदस्य एक हजार ३५ र दलित महिला एक हजार ३० मा जित गरी कुल पाँच हजार चार सय ४१ सिट हासिल गरेको छ । यद्यपि, नेकपा भंगसँगै केही प्रतिनिधि केन्द्रीय नेताजस्तै एमालेमै बसेका छन् ।