भक्तपुरको भिरालो जग्गामा प्लटिङ ढिस्कोले पुरिएर दुई कामदारको मृत्यु

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

भक्तपुरमा प्लटिङको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई कामदारले ज्यान गुमाएका छन् । चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थित भिरालो प्लटिङमा काम गर्दागर्दै ढिस्को खसेर उनीहरू पुरिएका हुन् । 

मृत्यु हुनेमा काभ्रे नमोबुद्ध– ९ घर भएका चतुरमान लामा र चौरी–देउरालीका वर्षमान तामाङ छन् । भिरालो जमिनमा लापरबाही तरिकाले प्लटिङ गर्दा दुर्घटना भएको प्रारम्भिक छानबिनमा खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार ठूलो ढिस्कोले पुरिएका उनीहरूलाई करिब आधा घन्टापछि मात्रै निकालिएको थियो । एक्स्काभेटरले माटो पन्छाएर उनीहरूको उद्धार गरिएको थियो । तर, उद्धार हुँदासम्म उनीहरूको मृत्यु भइसकेको थियो । 

‘निकै भिरालो जग्गा खारेर प्लटिङ हुँदै रहेछ । तल पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर दुई कामदार पुरिएछन्,’ डिएसपी पाण्डेले भने, ‘उद्धारका क्रममा एक्स्काभेटर नै लगाएर माटो पन्छाउनुपरेको थियो । तर, दुर्घटना भएको आधा घन्टापछि उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको थियो ।’

पछिल्लो समय उपत्यकाका जताततै भिराला डाँडापाखामा डोजर लगाएर प्लटिङ गर्ने क्रम बढेको छ । स्थानीय तहबाट प्लटिङका लागि जथाभावी अनुमति दिँदा जोखिम बढेको छ । यस्ता प्लटिङमा भौतिक संरचना निर्माण गर्दा भासिने तथा पहिरिने खतरा हुन्छ । भूकम्पको समयमा यस्ता ठाउँका संरचना भासिने र ढल्ने जोखिम बढी हुन्छ ।

See More On

सुझावित समाचार