नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले केन्द्रले गठबन्धनबारे निर्णय गरेको अवस्थामा पनि सबै ठाउँमा कार्यकर्ता र मतदाता तयार नरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशको सन्दर्भ उल्लेख गर्दै बलायरले नयाँ पत्रिकासँग प्रतिक्रिया दिएका हुन्।
‘गठबन्धन भनिए तापनि गठबन्धनमा भएका दलहरू र हाम्रोबीचमा, मतदाता र कार्यकर्ताका बीचमा कुनै संवाद भएको छैन। उहाँहरूका जिल्ला, पालिका र प्रदेश संरचनाबीच कुनै टेबलटक भएको छैन। अब केन्द्रबाट गठबन्धनबारे निर्णय गर्ने हो भने पनि प्रदेशदेखि जिल्ला र स्थानीय तहलाई छाड्नुपर्छ,’ उनले भने, ‘कहाँचाहिँ गठबन्धन गरेर सफल भइने र कहाँचाहिँ उहाँहरूले जित्ने ठाउँमा उहाँहरू लड्नुहुन्छ, हामीले जित्ने ठाउँमा हामी लड्छौँ। दुवैले हार्ने ठाउँमा दुवै मिलेर जान सकिन्छ। तर, सबै ठाउँमा गठबन्धनका लागि कार्यकर्ता र मतदाता तयार छैनन्।’
सुदूरपश्चिम प्रदेशमा स्थानीय तहदेखि जिल्लास्तरमा गठबन्धन गर्न नहुने मत रहेको उनले बताए। ‘ग्रासरुटमा त गठबन्धन गर्नैहुँदैन भन्ने छ। नेताहरूको बीचमा जिल्लास्तरमा पनि कुनै पनि हालतमा गर्नुहुँदैन भन्ने किसिमको देखिँदै छ,’ उनले भने।
बलायरले केन्द्रीय नेतृत्वले गठबन्धनको मनसायलाई अगाडि बढाएपछि त्यो मनसाय स्थानीय कार्यकर्ता र मतदाताबीच नरहेको बताए। ‘हाम्रोबीचमा कुनै संवाद छैन। निर्वाचनमा मात्रै हाम्रो आवश्यकता किन भन्ने मैले बुझेको छैन। केन्द्रीय नेतृत्वले गठबन्धनको मनसायलाई अगाडि बढाउनुभएको छ। त्यो मनसाय स्थानीय कार्यकर्ता र मतदाताबीच देखिँदैन। कुन किसिमको गठबन्धन हो, कुन दायराको गठबन्धन हो, त्यो भएपछि थाहा होला। तर, अक्सर गठबन्धनका लागि तयार छैनन्।’
केन्द्रीय समिति बैठकमा बलाएरबाहेक ६ प्रदेशका सभापतिले गठबन्धनबारे धारणा राखेका थिए। धारणा राख्ने चारजनाले गठबन्धनको पक्षमा र दुईजनाले गठबन्धनको विपक्षमा धारणा राखेको उनले बताए। आफू जिल्लामा चुनावी अभियानमा सक्रिय रहेकाले बैठकमा सहभागी हुन नसकेको उनले बताए।
बैठकमा सहभागी प्रदेश १ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले निर्वाचनमा केन्द्रबाट गठबन्धन गर्न नहुने पक्षमा जोड दिँदै स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए।