नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् ।
बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धनविना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनी केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताए । प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जबर्जस्त निर्णय लाद्न खोजेको भनी गलत प्रचार गरिएको बताए ।
उनले पार्टी सभापतिले जबर्जस्त निर्णय नलाद्ने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताए । स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई बेवास्ता गरेर माथिबाट कुनै पनि निर्णय नलादिने उनले स्पष्ट पारे ।
बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरूले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिपाेर्टिङ गरिरहेको उनले बताए । प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए । पार्टी सभापति देउवाले पार्टीसँग सरसल्लाह र सुझाब लिएरै निर्णय गरेको उल्लेख गरे ।