स्थानीय चुनावमा कांग्रेसका दुई थरी घोषणापत्र

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

केन्द्रले राष्ट्रिय घोषणापत्र बनाउने, पालिकाबाट ‘स्थानीय घोषणापत्र’

कांग्रेसले आसन्न स्थानीय निर्वाचनमा केन्द्र र पालिकाबाट भिन्नाभिन्नै घोषणापत्र जारी गर्ने भएको छ । समग्र स्थानीय तहबारे केन्द्रबाट ‘राष्ट्रिय घोषणापत्र’ र स्थानीय तहको विशेषताअनुसार ‘स्थानीय घोषणापत्र’ बनाउने कांग्रेसको तयारी छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दुई थरी घोषणापत्र बनाउने नीतिअनुसार काम भइरहेको बताए । ‘चुनावी अभियानसँगै तल्लो तहका पालिका समितिलाई स्थानीय तहको आवश्यकताअनुसारको घोषणापत्र बनाउन निर्देश गरिसकिएको छ,’ प्रवक्ता महतले भने, ‘केन्द्रबाट समग्र स्थानीय तहको विषयलाई समेटेर घोषणापत्र तयार गर्दै छौँ ।’

कांग्रेसले फागुन २९ बाट जारी एकमहिने ‘घरघर जाऊँ, कांग्रेस जिताऊँ’ चुनावी अभियानसँगै नगर र गाउँपालिका समितिहरूलाई ‘स्थानीय घोषणापत्र निर्माण समिति’ गठन गरेर तत्काल काम अगाडि बढाउन परिपत्र गरेको थियो । त्यसैअनुसार घोषणापत्र निर्माण तयारी अगाडि बढेको कांग्रेसले जनाएको छ । प्रवक्ता महतले स्थानीय आवश्यकता र प्राथमिकताका आधारलाई समेटेर घोषणापत्र तयार गर्न लागिएको बताए । कांग्रेसले स्थानीय तहमा घोषणापत्र निर्माण समितिमा पार्टीनिकट शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, पत्रकार र बौद्धिक क्षेत्रलाई समेट्न सर्कुलर गरेको छ । त्यस्तै, समितिमार्फत ‘घोषणापत्र निर्माण संवाद’कार्यक्रम सञ्चालन गरेर स्थानीय भावनालाई समाहित गर्ने गरी कार्यक्रमलाई अगाडि बढाएको छ ।  

यसैबीच, कांग्रेसले निर्वाचनबारे आवश्यक निर्णय लिन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठकमा जारी चुनावी अभियानको समीक्षा, उम्मेदवार छनोट गर्न संसदीय समिति निर्माण र निर्वाचनबारे आवश्यक निर्णयको एजेन्डा तय भएको छ । सभापति देउवाले चुनावी तालमेलबारे बैठकबाट निर्णय लिने बताएका छन् ।

भ्रातृ संस्थाको नियुक्तिमा इतरको असन्तुष्टि : समानान्तर भेला बोलाउने, केन्द्रीय समितिमा प्रतिवाद 
सभापति देउवाले नेविसंघ र तरुण दलको नेतृत्व नियुक्ति गरेपछि इतर समूह असन्तुष्ट  छ । बिहीबार डा. शेखर कोइरालासहित इतरपक्षीय नेताहरूको भेलाले नेविसंघ र तरुण दलको समानान्तर भेला बोलाउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवाद गर्ने निर्णय गरेको छ । बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान् गुरुङ नियुक्त गरेका थिए । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा भएको भेलाले सभापति देउवाले परामर्श नगरी आफूखुसी नियुक्त गरेको भन्दै आपत्ति जनाएको हो ।

भेलामा सहभागी नेता गुरुराज घिमिरेका अनुसार कार्यसम्पादन समिति बैठकले सभापतिलाई भातृ संस्थाको नेतृत्व चयनमा नेताहरूसँग आपसी परामर्श गरेर निर्णय गर्ने अधिकार दिएको भए तापनि सभापतिले आफूखुसी नियुक्ति गरेको बताए । भेलाले केन्द्रीय समितिमा आफ्नो मत राख्ने र तीन दिनभित्र युवा र विद्यार्थीको राष्ट्रिय भेला बोलाउने भन्ने निर्णय भएको उनले बताए ।

घोषणापत्र तयारीको जिम्मा थापालाई
घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा नियुक्त भएका छन् । सभापति देउवाले बिहीबार महामन्त्री थापालाई ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ संयोजकमा नियुक्त गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार महामन्त्री थापालाई संयोजक मनोनयन गरेका हुन् ।

सुझावित समाचार