कांग्रेस नेता र सिडिओलाई धम्क्याएको आरोप लागेका एसपीको पदोन्नति रोक्का

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

कांग्रेस नेता तथा सिडिओलाई धम्क्याएको आरोपमा निलम्बनमा परेका एसपी हिराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको छ । उनलाई एक वर्षका लागि पदोन्नति रोक्का गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा पाण्डेले गत पुसमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव तथा सिडिओ लालबाबु कवारीलाई धम्क्याएको उजुरीका आधारमा गृह मन्त्रालयले तीन महिनाका लागि निलम्बन गरेको थियो । 

दबाबको भरमा अवधि नपुगी आफ्नो सरुवा गरेपछि एसपी पाण्डेले एसपी यादव र सिडिओ कवारीलाई फोन गरेर गाली गरेका थिए । सो विषयमा उनीमाथि छानबिन टुंग्याएर प्रहरी प्रधान कार्यालयले यही साता निलम्बन फुकुवा गरेको छ । 

त्यसरी धम्क्याउनु प्रहरी आचरणको गम्भीर उल्लंघन भएको भन्दै गत २० पुसमा उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । कांग्रेस सभापति यादवले सरुवा गरिदिन्छु भनेर धम्क्याउँदै आएको र अवधि नपुगी सरुवा गरे पनि आवेगमा आएर उनले फोनमा धम्क्याएको छानबिनबाट पुष्टि भएको छ । यद्यपि घरमै गएर धम्क्याएको भन्ने यादवको आरोप भने पुष्टि भएको छैन । 

सिडिओ कवारीसँग पनि उनको विवाद भएको थियो । जसकारण उनले पनि गृह मन्त्रालयमा एसपी पाण्डेविरुद्ध प्रतिवेदन नै दिएका थिए । बयानको क्रममा एसपी पाण्डेले कांग्रेस नेता यादव र सिडिओ कवारीले गैरकानुनी कामका लागि दबाब दिएको र नमानेपछि आफूविरुद्ध लागेको बताएका छन् । 

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले एसपी पाण्डेमाथि कारबाही टुंग्याएर निलम्बन फुकुवा गरिएको पुष्टि गरे ।

सुझावित समाचार