मुख्यमन्त्री कपको फाइनलमा गण्डकी

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधिनजिक पुगेको हो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय सात रन बनाएको थियो । एक सय आठ रनको विजय लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । मधेस प्रदेशका एलिशा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदरले दुई तथा ज्योत्सनीका मरासिनी र आकृति तिवारीले एक–एक विकेट लिए ।

त्यसअघि गण्डकीका लागि ज्योत्सनीका मरासिनीले ३४ बलमा आठ चौकाको मद्दतले ४३ रनको पारी खेलिन् । गण्डकीका आङ्पेम्बलुम्बा शेर्पाले १७ रन बनाइन् । बलिङतर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले दुई–दुई विकेट लिए । खेलको प्लेयर अफ दी म्याच ज्योत्सनीका मरासिनी भइन् ।

अर्को खेलमा सान्त्वना जित निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अंकुश लगाइदिएको छ । यो खेल जितेको भए समूह चरणको एक खेलअगावै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो । तर, लुम्बिनी प्रदेशसँग पाँच विकेटले पराजित कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्नेछ । 

टस जितेर ब्याटिङ थालेको कर्णालीले १९.४ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीले १४.३ ओभरमै पाँच विकेट गुमाएर ७३ रनको झिनो विजय लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि रन्जु श्रेष्ठले २९ रनको योगदान दिइन् । बलिङतर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले दुई–दुई विकेट लिए ।
त्यसअघि कर्णालीका लागि किरणकुमारी कुँवरले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीलाई सान्त्वना जित दिलाउन आश्मा पुलामीमगरले तीन विकेट लिइन् । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन् । समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन् । एक–एक जित मात्रै निकालेका यी दुई टोलीमध्य विजेता टोलीले कर्णाली प्रदेशसँग अंक बराबरी गर्नेछन् । उक्त खेलपछि रनरेटका आधारमा गण्डकी प्रदेशसँग उपाधि भिडन्त गर्ने टोलीको टुंगो लाग्नेछ ।  

सुझावित समाचार