केन्द्रीय कमिटी बैठकमा ओलीले भने– स्थानीय तह निर्वाचन जित्नैपर्छ, त्यसैअनुसार अघि बढ्नुस्

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताए। 

द्वन्द्व र हिंसाबाट गुज्रिएको मुलुकमा दिगो शान्ति स्थापना तथा सुशासन र भ्रष्टाचारमुक्त गरी देशलाई समृद्ध नेपाल सुखी नेपालीसम्म पर्याउने अभिभारा पूरा गर्न स्थानीय तहको निर्वाचन जित्नुपर्ने तर्क उनको छ। 

उनले भ्रमपूर्ण सत्तापक्षीय र जनविरोधी प्रचारहरू भएको दाबी गर्दै त्यसविरुद्ध बहुसंख्याको अभिमत प्राप्त गरी स्थानीय तहको निर्वाचनबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। 

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति र मूल धार हौँ। इतिहासको लोकतान्त्रिक आन्दोलनको विरासत हामीसँग छ।  आजको समस्या र चुनौतीको सामना र समाधान गर्नुपर्ने उत्तरदायित्व हामीसँग छ। देशलाई समृद्ध नेपाल सुखी नेपालीसम्म उर्याउनुपर्नेछ,’ उनले भने, ‘त्यो अभिभारा पूरा गर्न आगामी निर्वाचनहरू महत्वपूर्ण छन्।’

उनले नेकपा एमालेको नेतृत्वमा सम्पूर्ण लोकतान्त्रिक आन्दोलन भएको र सबैभन्दा ठूलो प्रमुख राजनीतिक पार्टी भएको दाबी पनि गरे।

केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन संगठनात्मक र प्रचारात्मक कार्यक्रम तथा जनपरिचालनसम्बन्धी महत्वपूर्ण निर्णय गर्नेछ। 

त्यसैगरी भोलिको बैठकमा निर्वाचनकेन्द्रित गरेर बनाइएको पार्टीको एपबारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने पनि अध्यक्ष ओलीले जानकारी दिए। उनले नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसँगै सदस्यता संख्या ११ लाख पुगेको आकलन गरिएको दाबी पनि गरे।  

सुझावित समाचार