स्थानीय चुनाव माओवादीका लागि जीवनमरण हो : प्रचण्ड

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

गठबन्धनको आशा गरेर ‘रिल्याक्स’ नगर्न नेता कार्यकर्तालाई निर्देशन

माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन पार्टीका लागि जीवनमरणको विषय भएको बताएका छन् । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी हार्दा देश हार्ने जिकिर गरे ।

‘यो निर्वाचन अरूका लागि चुनाव मात्र होला, तर हाम्रा लागि जीवनमरणको विषय हो । हामी हार्दा देश हार्छ । अरू हार्दा देश जित्छ,’ प्रचण्डले कार्यक्रममा भने । गठबन्धनको आशा गरेर ‘रिल्याक्स’ नगर्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । ‘गठबन्धनको आस गरेर रिल्याक्स नगर्नुस् । आफ्नो खुट्टा बलियो बनाउनुस्,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्धकै कारण संविधानमा समानुपातिक, समावेशिताको विषय उल्लेख गराउन सम्भव भएको हो । अहिले ती उपलब्धि उल्टाउने प्रतिक्रान्तिकारी र विदेशी शक्ति लागिपरेका छन् । त्यसैले माओवादीलाई चुनावमा जिताउनैपर्छ ।’ डेढ–दुई महिनामा मधेसलाई क्रान्तिकारीमय र माओवादीमय बनाउनुपर्ने उनको भनाइ थियो । 

प्रशिक्षणमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्डले पहिला स्थानीय तहको चुनाव एक्लै जित्ने गरी जनमत तयार गर्न र त्यसपछि मात्रै गठबन्धनको कुरा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले कांग्रेस, माओवादी, जसपा, नेकपा एसबीचको गठबन्धन चुनावको लागि नभई संविधानको रक्षाका लागि भएको दाबीसमेत गरे । त्यसअघि मंगलबारै जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले स्थानीय तहको चुनावमा गठबन्धन हुने नहुने विषय कांग्रेसमा भर पर्ने बताएका थिए । 

See More On

सुझावित समाचार