नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरु केन्द्रीय कमिटी बैठकमा सचिवालयका सदस्यहरूले धारणा राखिसकेका छन् । आइतबारसम्म १६ जना केन्द्रीय सदस्यले बैठकमा धारणा राखेका छन् ।
महासचिवको प्रस्तावबारे बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूमा पनि दुई धार देखिएको छ । आइतबार उमा भुजेल, भरत बम, दीपक चलाउनेलगायतले धारणा राखेका छन् ।
बैठकमा जनअपेक्षासहितको पार्टी निर्माण कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । ‘विकल्पसहितको पार्टी निर्माणको विषयमा छलफल भइरहेको छ,’ नयाँ पत्रिकासँग उनले भने, ‘यान्त्रिक ढंगले मात्र सोचेर हुँदैन भन्नेमा साथीहरू हुनुहुन्छ ।’
संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित गरेपछि अन्य दलहरूसँगको जनअपेक्षा सकिएको बताउँदै उनले भने, ‘हामीलाई विकल्पसहितको पार्टी बन्ने दबाब छ । केन्द्रीय समितिले त्यो कार्यदिशा समात्नेछ ।’
भुजेल र बमले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने विप्लवको प्रस्तावमा समर्थन जनाएका छन् भने चलाउनेलगायतले निर्वाचनमा जान नहुने धारणा राखेका छन् ।
चलाउनेले जनमतसंग्रहको चुनावमा मात्र जान सकिने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । चलाउनेलाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘निर्वाचनलाई उयोग गर्ने भनिएको छ, यही अवस्थामा कसरी निर्वाचनको उपयोग हुन सक्छ ? निर्वाचनमा जाने विषय आत्मघाती हुन्छ । चुनाव मै जाने हो भने जनमतसंग्रहमा मात्र जान सकिन्छ ।’
बैठकमा भुजेलले पार्टीलाई यान्त्रिक ढंगले चलाउन नहुने बताएको ती केन्द्रीय सदस्यले बताए । उनले पार्टीलाई २१औँ शताब्दीको नयाँ मोडलमा चलाउनुपर्ने धारणा राखेकी थिइन् । जनअपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउन महासचिवको प्रस्ताव सही दिशामा आएको उनले बैठकमा बताएकी थिइन् ।
बैठकमा बमले जेलमा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई छुटाउने र तीनबुँदे सहमति कार्यान्वयन गरेर लैजाने विषयमा पार्टी गम्भीर हुनुपर्ने बताएका छन् । उनले निर्वाचनलाई उपयोग गरेर उपलब्धिलाई रक्षा गर्नुपर्ने धारणा राखेका थिए ।
नेकपाभित्र स्थानीय तह निर्वाचनलाई उपयोग गर्ने वा बहिष्कार गर्ने भन्ने विवाद छ । महासचिव विप्लवले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने राजनीतिक प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् ।
२१ फागुन ०७७ मा तत्कालीन केपी ओली सरकारसँग तीनबुँदे सहमतिपछि नेकपा शान्तिपूर्ण राजनीतिको अध्यायमा प्रवेश गरेको थियो । एकीकृत क्रान्तिको कार्यदिशामार्फत भूमिगत संघर्ष सुरु गरेका विप्लवले शान्तिपूर्ण राजनीतिमा आउँदै गर्दा ‘जनमतसंग्रह’को माग गरेका थिए ।
नेकपाको ६ सदस्यीय सचिवालयमध्ये खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढा विप्लवको राजनीतिक प्रस्तावको पक्षमा छन् । सुरुमा तटस्थ देखिएका बुढाले शनिबारको बैठकमा विप्लवको प्रस्तावलाई समर्थन गरेका थिए । विश्वकर्माले भने सुरुदेखि नै निर्वाचनमा सहभागी हुनुपर्ने बताउँदै आएका छन् ।
हेमन्तप्रकाश वली र धर्वेन्द्र बाँस्तोला भने निर्वाचनमा सहभागी हुन नहुने धारणा राख्दै आएका छन् । उनीहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने विप्लवको प्रस्ताव फिर्ता हुनुपर्ने बताएका छन् ।